गणतन्त्र दिवसको अवसरमा दाङका दुई कारागारबाट ३१ जना कैदीको कैद मिनाहा



गणतन्त्र दिवसको अवसरमा दाङका दुई कारागारबाट ३१ जना कैदीको कैद मिनाहा

दाङ १५ जेठ । दाङमा गणतन्त्र दिवसको अवसरमा आज ३१ जना कैदीको कैद मिनाह हुने भएको छ । घोराही कारागारबाट ९ र तुलसीपुर कारागाराबाट २२ जना कैदीको कैद मिनाह हुने भएको छ ।

घोराहीमा ४० प्रतिशत कैद भुक्तान गरेका ३ जना र ५० प्रतिशत भुक्तान गरेका ६ जना रहेका छन् । उनीहरुमध्ये कर्तव्य ज्यानका ५ जना, डाकाचोरीका १ जना, सवारी ज्यानका १ जना, हातहतियार तथा खरखजनाका २ जना रहेका छन् । घोराहीमा कैद मिनाह हुने सबै पुरुष रहेका छन् । घोराही कारागारमा अहिले ३ सय ९ जना कैदी रहेको जेलर बासुदेव खनालले जानकारी दिए ।

कैद मिनाहा भएका कैदीबन्दीहरुलाई उनीहरुको आफन्तीको रोहबरमा आज दिउँसो छोडिने उनले बताए । गतवर्ष आजको दिन घोराही कारागारबाट ७ जनालाई छोडिएको थियो । तुलसीपुरमा ५० प्रतिशत कैद भुक्तान गरेका १४ जना र ४० प्रतिशत कैद भुक्ता गरेका ८ जना रहेका रहेका छन् । ५० प्रतिशत कैद भुक्तान गरेर बाँकी कैद मिनाह हुनेमा १ महिला र १३ जना पुरुष रहेका छन् ।

कर्तव्य ज्यानका एक महिला,  कर्तव्य ज्यानका ३ पुरुष, गौ बधका ३ जना पुरुष, सवारी ज्यानका ३ पुरुष, ज्यान मार्ने उद्योगका २ जना पुरुष, नकपजनी चोरी र डाँका चोरीका १/१ जना पुरुष रहेको कारागार कार्यालय तुलसीपुरका जेलर अमर वलीले जानकारी दिए । यस्तै ४० प्रतिशत कैद भुक्तान गरेकामध्ये डाका चोरी र ज्यान मार्ने उद्योगका २/२ जना र कर्तव्य ज्यानका ४ जना रहेका छन् । तुलसीपुर कारागारमा अहिले दुई जना आश्रित बालबालिका र ४० महिलासहित ५ सय ५० जना कैदीबन्दी रहेको जेलर वलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे