LISTEN LIVE RADIO

लुम्बिनी प्रदेशसभाको स्थायी राजधानी देउखुरीमा हिउँदे अघिवेशन सञ्चालनकाे तयारी तीब्र, सभामुख घर्तीकाे नेतृत्वमा स्थलगत निरीक्षण  



लुम्बिनी प्रदेशसभाको स्थायी राजधानी देउखुरीमा हिउँदे अघिवेशन सञ्चालनकाे तयारी तीब्र, सभामुख घर्तीकाे नेतृत्वमा स्थलगत निरीक्षण  

सन्ताेषकुमार गुप्ता, भालुवाङ १४ कार्तिक ।

लुम्बिनी प्रदेशसभाको स्थायी राजधानी देउखुरी घाेषणा भएपछि प्रदेशसभाकाे  पहिलाे बैठक तथा हिउँदे अघिवेशन देउखुरीमै सञ्चालन गर्ने तयारी तीब्र गरिएकाे छ । जसका लागि राप्ती उपत्यकाकाे देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय माैरीघाटमा राख्ने तयारी समेत गरिएको छ।

प्रदेश सरकारले तिहारपछि लगत्तै मंसिर महिनामा आह्वान गर्ने हिउँदे अधिवेशनको बैठक बसाल्ने गरी राप्ती प्राविधिक शिक्षालय माैरीघाट भित्रको पूर्वाधारहरु प्रयोग गरेर सदन बसाल्न सकिने गरी गृहकार्य अगाडि बढाइएकाे छ।

यसैबीच शुक्रबार लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीको नेतृत्वमा उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी, सुरक्षा अधिकारी सहितको टोलीले स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल समेत गरेको छ।

‘सरकारले निर्णय गरेर टुंग्याएमा हामी बैठक बसाल्न सक्ने अवस्थामा छौँ’, सभामुख पूर्णबहादुर घर्तीले भने, ‘प्रदेशसभाबाट स्थायी राजधानीको निर्णय टुंगिएपछि निर्णय कार्यान्वयनको दायित्व सबैको रहन जान्छ। यो निर्णय कार्यान्वयन गर्न सबैले सहयोग गर्नुपर्छ।’

राप्ती प्राविधिक शिक्षालय १६ विगाह जग्गामा फैलिएको छ। ३५ ओटा साना तथा ठूला पक्की भवन छन्। तीन सय मानिस अटाउन सक्ने सभाहल समेत रहेको छ। यही संरचनालाई प्रयोग गरेर सदन बसाल्ने योजना सरकारले बनाएको छ। प्रदेश सरकारले चाहेमा सदन बसाल्नको लागि राप्ती प्राविधिक शिक्षालयको संरचना प्रयोग गर्न दिइने प्रमुख जिल्ला अधिकारी तथा राप्ती प्राविधिक शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण अधिकारीले जानकारी बताए।

‘हिउँदे अधिवेशनको बैठक बसाल्न सकिन्छ। हामीले संरचना दिन सक्छौँ। के कति संरचना चाहिन्छ। निर्देशन भएमा सोही अनुसार गर्छौँ,’अधिकारीले भने,‘यहाँ शिक्षालयमा ११ सय विद्यार्थी अध्ययनरत छन्। उनीहरुको पढाइलाई निरन्तरता दिनेगरी विकल्पको बारेमा पनि यहाँहरुले सोचिदिनु हुनेछ, प्रजिअ अधिकारीले भने ।

यता आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले तत्कालको लागि प्रदेशसभा बैठक सञ्चालनको लागि चाहिने पूर्वाधाहरुको अवलोकन गर्न आफूहरु निरीक्षणमा आएको जानकारी दिए। ‘हिउँदे अधिवेशन कहाँ चलाउने, कसरी चलाउने भन्ने कुरा टुंग्याउन बाँकी नै छ। यसका लागि हामीले पूर्वाधारहरुको अध्ययन गरेका छौँ’, उनले भने, ‘पूर्वाधाहरु पुग्छन्। चलाउन सकिन्छ भन्ने धारणाहरु आए भने त्यही ढंगको निर्णय हुन्छ, मन्त्री केसीले भने ।

यसैबीच राप्ती प्राविधिक शिक्षालयको अवलोकनपछि गाउँपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राजधानीको जिम्मेवारी आफूहरु लिन तयार भएको बताए। हिउँदे अधिवेशनको लागि सदन बसाल्न समस्या नहुने प्रतिवद्धता जनाए। असोज २० मा प्रदेश ५ को प्रदेशसभा बैठकबाट प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरीलाई बनाउने निर्णय गरेको थियो।

सो निर्णय पश्चात प्रदेश सरकारले स्थायी राजधानी क्षेत्रमा नदी तटिय क्षेत्रमा नमुना शहर बनाउने परिकल्पना सार्वजनिक गरेको थियो। स्थायी संरचना बनाउन मास्टर प्लान बनाउने र त्यसपछि दुई वर्षभित्र प्रशासनिक भवनहरु बनाइसक्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे