दाङमा पार्टी फेर्नेको लहर बढ्दै, नयाँ अनुहारले टिकट पाउने संभावना बढ्यो



दाङमा पार्टी फेर्नेको लहर बढ्दै, नयाँ अनुहारले टिकट पाउने संभावना बढ्यो

दाङ ४ वैशाख । दाङमा पार्टी फेर्नेहरूको लहर बढेको छ । नेता कार्यकर्तामा स्वार्थीपन बढेपछि पार्टी फेर्नेहरूको लहर देख्न सकिन्छ । अझ स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा दाङमा टिकट पाउने लोभमा पनि पार्टी बदल्नेहरुको होडबाजी चलेको छ ।

आफ्नो उम्मेद्वारी सुरक्षित गर्न दल परित्याग र पार्टी प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको छ । पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको पद सुरक्षित गर्न विभिन्न दलका नेता र कार्यकर्ताहरु दल बदल गरी आफ्ना अनुकुलका पार्टीमा प्रवेश गर्नेको लहर नै चलेको छ ।

आ–आफ्ना पार्टीबाट टिकट पाउने अवस्था नरहेको आंकलन गरी अन्य पार्टीबाट टिकट पाउने सम्भावना देखेपछि व्यापारिक पृष्ठभूमिबाट राजनीतीमा प्रवेश गरेका विभिन्न दलका नेताहरुले दल बदल गरेका छन् । स्थानीय तह निर्वाचनमा आफु निर्वाचित पार्टीको टिकट लिन विभिन्न तहबाट निकै प्रयास गरेता पनि टिकट पाउने सम्भावना नदेखेपछि दल बदल गर्ने गरेको पाइएको छ । दल बदल कार्यक्रममा पार्टीका शीर्ष नेताको हातबाट टीका लगाई विधिवत् रुपमा पार्टी प्रवेश गर्ने गरेका छन् ।

नेपाली कांग्रेसले वडादेखि गाउँसम्म १२ हजार पार्टी सदस्यता पठाएको नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी दिए । उनका अनुसार तीन महिनाको बीचमा नेपाली कांग्रेस दाङले जिल्लामा रहेका दश वटा पालिकास्तरका वडादेखि गाउँसम्म १२ हजार सदस्यता पठाएको हो ।

तीन महिनाभित्र १२ हजार सदस्यता पठाएका छौं । त्यो पेरिफेरिमा कति जनाले कांग्रेस प्रवेश गरे भन्ने कुराको एकिन तथ्यांक नभएको सभापति डाँगीको भनाई छ । विशेषगरी दाङको देउखुरी क्षेत्रमा स्थानीय तह निर्वाचन २०७९ को चुनावी प्रचारमा उत्रिएका विभिन्न पार्टीका विभिन्न दलहरुले टिकट पाउने आशामा अन्य दल रोजेर पार्टी प्रवेश गरेको सजिलै भेट्न सकिन्छ ।

देउखुरी क्षेत्रमा ठूलो दलको सहयोग नभए वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जित्ने सम्भावना नदेखेपछि राष्ट्रिय जनमोर्चा पार्टी परित्याग गरी व्यवसायी तथा नेता जगतप्रसाद पोख्रेल र सामाजिक अभियान्ता गंगाराम भट्टराई नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।

त्यस्तै राजपुर गाउँपालिका वडा नम्बर ७ का कांग्रेसी नेता धनिप्रसाद खड्का माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यस्ता उदाहरण हरेक पार्टीका नेता तथा कार्यकर्ताहरुले गरेका छन् । निर्वाचित जनप्रतिनिधिबाट जनताको अधिकार कार्यान्वयन हुन नसकेको भन्दै नेकपा (माओवादी केन्द्र) रोज्दै पार्टी प्रवेश गर्नेहरु पनि कमी छैनन् ।

जिल्लामा आफ्नो टिकट सुरक्षित गराउन कसरत गर्दै गरेका विभिन्न पार्टीका विभिन्न दलहरुले शीर्ष नेताहरुसंग भेटघाटको कार्यक्रमलाई अगाडि बढाएका छन् । कतिपय स्थानमा दल बदल गरेका नेताहरु विभिन्न पालिकाका प्रमुख र उपप्रमुखको दाबेदारका रुपमा समेत प्रस्तुत भएका छन् ।

यता नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले जिल्लामा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतका अन्य पार्टी परित्याग गरी करिब आठ हजार कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको दावी गरे । उनले नेकपा एमालेबाट निर्वाचित केन्द्र, प्रदेश र स्थानीय सरकारको कामबाट प्रभावित भई अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको जानकारी दिए । एमालेका नेता होइन, पार्टीको सिद्धान्त, निती र विचार मन पराएर कार्यकर्ता एमालेमा प्रवेश गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे