दाङमा राष्ट्रिय जनमोर्चा समन्वय समितिद्वारा उम्मेदवार घाेषणा, घोराहीको प्रमुखमा पुन र उपप्रमुखमा भट्टराई



दाङमा राष्ट्रिय जनमोर्चा समन्वय समितिद्वारा उम्मेदवार घाेषणा, घोराहीको प्रमुखमा पुन र उपप्रमुखमा भट्टराई

दाङ ३ बैशाख । राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति दाङले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घोराही उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा उम्मेदवार छनोट गरेको छ । चित्रबहादुर केसीले नेतृत्व गरेको राष्ट्रिय जनमोर्चाबाट अलग भएको सो पार्टीले शनिबार घोराहीमा पत्रकार सम्मेलन गरि नगर प्रमुखमा लिलाबहादुर पुन र उपप्रमुखमा बसन्ता भट्टराईलाई उम्मेदवार बनाउने घोषणा गरेको हो ।

शनिबार घोराहीमा बसेको पार्टीको नगर कमिटी बैठकले उम्मेदवार छनोट गरि यही बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट होमिने बताएको हो ।पत्रकार सम्मेलनमा नगर प्रमुखका उम्मेदवार पुनले देश आर्थिकरुपमा बलियो भए मात्रै विकास निर्माण र समाज परिबर्तन गर्न सम्भब हुने बताए । अनेक आशा र आश्वासन बाढ्न उचित नहुने भन्दै उनले अर्थतन्त्र सुधार गरेर मात्रै सबथोकको विकास गर्न सम्भब हुने धारणा राखे ।

सानो मुखले ठूलो कुरा गर्न नहुने भन्दै उहाँले अबस्था हेरेर विकास हुने र गर्न सकिने बताए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य रामबहादुर जिएमले पाँच दलिय गठबन्धनलाई अपवित्रको संज्ञा दिए । यो गठबन्धन जति समय टिक्यो त्यती धेरै देशलाई घाटा हुने उहाँको भनाई छ ।

देशको अर्थतन्त्र ध्वस्त भएको, महंगी बढेर जनता बाँच्नै मुस्किल भएको अबस्थामा गठबन्धन गरेर फेरी पनि जनतालाई मारमा पार्ने र आफुहरु रजाँई गर्ने दाउमा रहेको टिप्पणी गरे । चित्रबहादुर केसीले नेतृत्व गरेको पार्टी किसान मजदुरको बिचमा जानुपर्ने भए पनि कांग्रेस माओबादीको पछि लागेर सत्ता मोहमा फसेपछि आफुहरु बिद्रोह गरेर समानान्तर गतिबिधीमा लागेको स्पष्ट पारे ।

सत्ताको दुरुपयोग गर्ने, विरोधको नाटक गरेर एमसीसी पास गर्ने काममा लागेको भन्दै उहाँले जनमोर्चालाई सरकारी पार्टी भएको बताए । संसद विघठन गर्दा केपी ओलीले प्रतिगामी काम गरेको तर अहिले ५ दलिय गठबन्धनका नाममा उनिहरु नै त्यहीबाटोमा लागेर देशलाई बर्बादिमा पारेको आरोप लगाए । सो पार्टीले छिट्टै अन्य पालिका र वडाहरुमा पनि उम्मेदवारको टुंगो लगाउने नगर सचिब मंगल घर्तीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे