तुलसीपुरमा विकको खुट्टा छिनालिएको घटनाको अनुसन्धान गर्न ३३ युवा प्रहरी नियन्त्रणमा



तुलसीपुरमा विकको खुट्टा छिनालिएको घटनाको अनुसन्धान गर्न ३३ युवा प्रहरी नियन्त्रणमा

तुलसीपुर १२ कार्तिक ।  तुलसीपुरका कुमार (कमारा) विकको खुट्टा छिनालिएको घटना अनुसन्धान गर्न प्रहरीले ३३ जना युवालाई नियन्त्रणमा लिएको छ। उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी नवलपुर निवासी ४५ वर्षीय विक तुलसीपुर १० गोलौरीमा सोमवार राति  अपरिचित समुहको धारिलो हतियारको आक्रमणवाट  एउटा खुट्टा छिनालिएको अवस्थामा फेला परेका थिए।

एउटा खुट्टा छिनालेको तथा दुबै हातमा धारिलो हतियारले छिया छिया हुने गरि काटिएको अवस्थामा विकलाई प्रहरीले मध्यरातमा उद्धार गरि अस्पताल पुर्‍याएको थियो।  सोही घटना अनुसन्धान गर्न गोलौरी आसपासका ३३ जना युवाहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए।

‘पक्राउ परेकाहरू माथि सोधपुछ र अनुसन्धान जारी छ,’ डिएसपी सिंहले भने ‘अनुसन्धानबाट त्यसअघि सोही गाउँका चौधरी युवाहरूका बीचमा पनि आपसमा झडप भएको खुल्न आएको छ ।’ घाइते विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि सोमवार राति नै थप उपचारका लागि बाँके रिफर गरिएको थियो।

त्यहाँबाट पनि घाइतेलाई मंगलवार थप उपचारका लागि भारतको लखनउतर्फ लगिएको छ। अत्यधिक रक्तस्रावका कारण उनको अवस्था गम्भीर छ। गोलौरी गाउँमा आफ्नो भान्जाको विहे भोज खाएर आफ्नो घरतर्फ जाँदै गरेका विकमाथि पढ्ढा र गौलौरीको बीचको खेतमा अज्ञात समुहले सांघातिक आक्रमण भएको थियो।

‘विकको गौलौरीमा कसैसँग कुनैपनि प्रकारको व्यक्तिगत रिसिबी देखिदैन,’ डिएसपी सिंहले भने ‘केही ढिला होला, तर, हामी विकमाथि आक्रमण गर्नेलाई पत्ता लगाएरै छाड्छौं।’ उनले दोषी कुनैपनि हालतमा उम्कन नपाउने बताए।

साभार सेताेपाटी

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे