LISTEN LIVE RADIO

दाङमा एक लाख बढी मतदाता थपिए, मतदान स्थल भन्दा मतदान केन्द्र दोब्बरले बढी



दाङमा एक लाख बढी मतदाता थपिए, मतदान स्थल भन्दा मतदान केन्द्र दोब्बरले बढी

दाङ १५ चैत । २०७४ को स्थानिय तहको निर्वाचन पछि दाङमा एक लाख बढि मतदाता थपिएका छन् । २०७४ सालको स्थानिय तहको निर्वाचनमा जिल्लामा दुई लाख ९१ हजार १७० मतदाता रहेकोमा पाँच वर्ष पछि चार लाख ९ हजार ९ सय पुगेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिए ।

जसमा जसमा महिला मतदाता संख्या २ लाख ९ हजार ९९ जना र पुरुष मतदाता संख्या २ लाख ७ सय ९९ जना रहेका छन् । यस्तैगरी अन्य दुई जना मतदाता संख्या रहेको उहाले जानकारी दिए ।

उहाका अनुसार अघिल्लो स्थानिय तहको निर्वाचनको तुलनामा यस पटक भने एक लाख १८ हजार ७३० जना मतदाता थपिएका छन् । आउदो वैशाख ३० गतेका लागी जिल्लामा मतदाता संख्या संगै मतदान स्थल र मतदान केन्द्र पनि थपिएको छ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा जिल्लाभर १५१ मतदान स्थल रहेकोमा यस पटक बढाएर १५३ बनाइएको छ । यस्तैगरी जिल्लाभर ३५१ मतदान केन्द्रबाट हाल बढाएर ४६१ बनाईएको उनले जानकारी दिए ।
कुन पालिकामा कति मतदाता
जिल्लामा दुई उपमहानगरपालिका , एउटा नगरपालिका र सात वटा गाउँपालिका गरी दश वटा पालिका रहेका छन् । ती पालिका मध्ये आउदो स्थानिय तहको निर्वाचनका लागी सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा मतदाता रहेका छन् भने सबैभन्दा कम राजपुर गाउँपालिकामा रहेको प्रदेश निर्वाचन अधिकारी भण्डारीले जानकारी दिए । उनका अनुसार घोराहीमा १ लाख १२ हजार ९२७ मतदाता मध्ये ५८ हजार ७०६ जना महिला र ५४ हजार २१२ जना पुरुष मतदाता रहेको छन । त्यस्तैगरी सबैभन्दा थोरै राजपुर गाउँपालिकामा ८ हजार ४०७ जना पुरुष र ७ हजार ३१६ महिला गरी १५ हजार ७२३ जना मतदाताहरू रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिकामा ५२ हजार १३३ जना पुरुष र ५ हजार ७०६ जना महिला गरी १ लाख ७ हजार ६७७, बबई गाउँपालिकामा १० हजार ९६२ जना पुरुष, ११ हजार १८२ जना महिला गरी २२ हजार १४४ , राप्ती गाउँपालिकामा १५ हजार ६२ जना पुरुष र १६ हजार ४६१ जना महिला गरी ३२ हजार ३२३, लमही नगरपालिकामा १७ हजार ५३ जना पुरुष र १७ हजार ३२९ जना महिला गरी ३४ हजार ३८२, शान्तिनगर गाउँपालिकामा १० हजार २१३ जना पुरुष र १० हजार ६५० जना महिला गरी जम्मा २० हजार ८६३, गढवा गाउँपालिकामा १५ हजार १९० जना पुरुष र १४ हजार ६११ जना महिला गरी जम्मा २९ हजार ८०२ , बंगलाचुली गाउँपालिकामा ७ हजार ८५९ जना पुरुष र ८ हजार ९४ जना महिला गरी जम्मा १५ हजार ९५३ जना र दंगीशरण गाउँपालिकामा पनि ८ हजार ९९ जना पुरुष र ९ हजार २०७ जना गरी जम्मा १८हजार १०६ जना मतदाता रहेको उहाले जानकारी दिए ।
देशभर १ करोड ७७ लाख मतदाता
देशभर मतदाताको संख्या पौने दुई करोड रहेको छ । निर्वाचन आयोगले आईतवार सार्वजनिक गरेको विवरण अनुसार देशभर मतदाताको संख्या एक करोड ७७ लाख ३३ हजार सात सय २३ जना रहेको छ । जसमा ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता रहेका छन् भने महिला मतदाता ८७ लाख ४१ हजार पाँच सय ३० जना रहेको आयोगले जनाएको छ । त्यस्तै अन्यमा एक सय ८३ जना मतदाता छन् ।

यस्तैगरी आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा लागि मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ । जस अन्र्तगत देशभर १० हजार सात सय ५६ मतदानस्थल रहने छन् भने २१ हजार नौ सय ५५ मतदान केन्द्र रहेका छन् । आयोगका अनुसार ७७ वटै जिल्ला मध्ये सबैभन्दा धेरै मतदाता मोरङमा सात लाख १५ हजार दुई सय २३ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार चार सय ९६ मतदाता रहेका छन् । २०७४ सालको स्थानीय तहको चुनावमा भन्दा यस पटकको निर्वाचनमा ३६ लाख ५९ हजार दुई सय ९९ जना धेरै मतदाता थपिएका छन् । २०७४ सालमा भएको चुनावमा एक करोड ४० लाख ७४ हजार चार सय ४० मतदाता रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे