प्रगन्ना कुलो सिंचाई आयोजनाको मुहान नजिक राप्ती नदीमा ढुंगाजन्य वस्तुको उत्खनन् शुरु



प्रगन्ना कुलो सिंचाई आयोजनाको मुहान नजिक राप्ती नदीमा ढुंगाजन्य वस्तुको उत्खनन् शुरु

भालुवाङ ६ चैत । प्रगन्ना कुलो सिंचाई आयोजनाको मुहाननजिक राप्ती नदीमा ढुंगाजन्य वस्तुको उत्खनन् शुरु भएको छ ।

शीतगंगा नगरपालिकाले ठेक्का लगाएर ढुंगाजन्य वस्तु उत्खनन थालेपछि प्रगन्ना कुलो सिंचाई आयोजनाको मुहान जोखिममा परेको प्रगन्ना कुलो सिंचाई प्रणाली जल उपभोक्ता संस्थाका मूल समन्वय समितिका अध्यक्ष टंकनाथ चौधरीले बताए ।

नदीको सतह गहिरिने गरी उत्खनन गरिएपछि सिंचाई समस्या हुने भन्दै किसानले आन्दोलन थालेका छन् । उत्खनन भइरहेको स्थलमा पुगेर किसानहरुले जथाभावी उत्खनन नगर्न अनुरोध गरेका छन् । किसानहरु उत्खनन स्थलमा पुगेर निगरानी गर्न थालेपछि उत्खनन गर्ने कार्य केही रोकिएको छ ।

केही दिनअघि प्रगन्ना कुलो सिंचाई प्रणाली जल उपभोक्ता संस्था मूल समन्वय समितिको बैठकले राप्ती नदीबाट गिट्टी, ढुंगा, बालुवा जस्ता नदीजन्य स्रोतहरु अत्यधिक मात्रामा उत्खनन र निकासी भइरहेको भन्दै तत्काल रोक्न माग गर्ने निर्णय गरेको थियो ।

यसरी जथाभावीरुपमा भइरहेको उत्खनन्ले प्रगन्ना सिंचाई आयोजनाको दुई र तीन नम्बर इन्टेकमा पानी सञ्चालनमा अप्ठेरो पर्ने ठहर गरिएको छ । ‘उत्खननले नदीको सतह गहिरिएको छ ।

जसले गर्दा कुलोमा पानी चढ्दैन । नदी थुन्न सकिदैन । कसरी सिंचाई गर्ने भन्ने चिन्ता बढेको छ’– अध्यक्ष चौधरीले भने– ‘हिउँदमा गरिने खेतीपातीमा समेत असर परेको छ । नदीमा पानी छ तर कुलोमा पानी नचढ्दा सिंचाईको समस्या बल्झिदै गएको छ ।’

प्रगन्ना कुलो सिंचाई आयोजना अन्तर्गत राप्ती नदीको पानीबाट करिब पाँच हजार आठ सय हेक्टर जमिनमा सिंचाई सुविधा पुग्दै आएको छ । बेलाबखत हुने अनियन्त्रित उत्खनन्ले वर्षेनि सिंचाईको समस्या थप्दै लगेको छ ।

राप्ती नदीमा सिंचाईका लागि बाँध निर्माण गरिएको छैन । नदीको किनारमा मुहान बनाइएको छ । जहाँ किनारमा ढल्किएको पानी मात्रै इन्टेक हुँदै कुलोमा जाने गर्छ । नदीले बदल्ने धार र जथाभावी उत्खननले गर्दा नदीको पानी उत्तर किनारबाट बग्न नसक्ने अवस्था छ । केही ठाउँमा नदीमा पानी डो¥याएर इन्टेकमा सोझाउने गरिएको छ ।

गाउँभरीको झरालीमार्फत परम्परागतरुपमा पानी थुनेर सिंचाई गर्नुपर्ने बाध्यता अझै छ । सिंचाई प्रणालीको मुहानमा भइरहेको उत्खननले भविष्यमा सिंचाईको ठूलो समस्या निम्त्याउन सक्ने जोखिम रहेको प्रगन्ना कुलो सिंचाई प्रणाली जल उपभोक्ता मूल समन्वय समितिका सदस्य तिलक न्यौपानेले बताए ।

‘जथाभावी हुने उत्खननले दुबैतर्फका सिंचाई आयोजनामा गम्भीर असर पर्छ । करिब दश हजार हेक्टर जमिन बाँझो रहेने जोखिम छ’– उनले भने– ‘सिंचाईका संरचना भएको क्षेत्रमा उत्खनन अनुमति दिइनुहुँदैन ।’

नयाँ युगबोधमा साभार

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे