लुम्बिनी प्रदेशका कांग्रेस नेताहरू चुनावी गठबन्धनको विपक्षमा



लुम्बिनी प्रदेशका कांग्रेस नेताहरू चुनावी गठबन्धनको विपक्षमा

दाङ ५ चैत । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तीन तहकै निर्वाचन गठबन्धन गरेर प्रतिष्पर्धा गर्ने बताइरहेका बेला लुम्बिनी प्रदेशका कांग्रेस नेताहरू भने गठबन्धनको विपक्षमा छन् । गठबन्धन गरेर चुनावमा जाँदा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई फाइदा भएपनि कांग्रेसलाई घाटा हुने उनीहरूको तर्क छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले केन्द्रबाट गठबन्धन लादिए त्यो स्वीकार्य नहुने बताए । पार्टी सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहे पनि स्थानीय नेता कार्यकर्ता त्यसको विपक्षमा देखिएका हुन् ।

संस्थापनइतर समूहमा रहेका लुम्बिनी प्रदेश सभापति पुनले कांग्रेस एक्लै चुनावमा जाने बताए । कार्यकर्ताको भावना पनि कांग्रेस एक्लै चुनावमा जानुपर्ने रहेकाले नेतृत्वले कार्यकर्ताको भावना बुझेर निर्णय गर्ने उनको विश्वास छ ।

पुनले भने, ‘कार्यकर्ताको भावना विपरीत गठबन्धन गरिए त्यो कांग्रेसकै निम्ति दुर्भाग्य हुन्छ, हामीले केन्द्रबाट गर्ने गठबन्धनको निर्णय स्वीकार्न सक्दैनौं।’ उनले गठबन्धनको निर्णय पार्टीको स्थानीय कमिटीलाई दिनुपर्ने तर्क पनि गरे ।  ‘कहीं कतै आवश्यक ठानिए स्थानीय कमिटीले निर्णय गर्न सक्ने गरी केन्द्रबाट खुला गरिनुपर्छ, आमरूपमा गठबन्धन सम्भव छैन’, उनले भने ।

कांग्रेसले अहिले लुम्बिनी प्रदेशका पालिकाहरूमा चुनाव केन्द्रित रणनीति बनाइरहेको छ ।  कांग्रेस नेता फणिन्द्र शर्माले गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा कार्यकर्ताको मनोभावना बुझेपछि थाहा हुने बताए ।  ‘कांग्रेसले गरिरहेको चुनाव केन्द्रित अभियानका क्रममा अधिकांश कार्यकर्ताको मत गठबन्धन गर्नु हुँदैन भन्ने छ, तर केहीको मत भने गठबन्धन स्थानीय आवश्यकताका आधारमा गर्नुपर्ने भन्ने छ’, उनले भने ।

निर्वाचन सम्भाव्यता अध्ययन तथा रणनीति योजना निर्माण समिति संयोजक तथा कांग्रेस रुपन्देही उपसभापति डा.अनिता शाहले निर्वाचन सम्भाव्यता अध्ययनका क्रममा अधिकांश कार्यकर्ताको मत गठबन्धनको विपक्षमा रहेको बताइन् ।

तर, लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा भने स्थानीय कमिटीको निर्णयका आधारमा आगामी स्थानीय तहमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपाबीच गठबन्धन गर्ने सहमति भएको छ ।

साभार : फरकधारबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे