LISTEN LIVE RADIO

कोरोनाको दशा लागेको बेला दाङ रेडक्रसले ल्याएको दशैं



कोरोनाको दशा लागेको बेला दाङ रेडक्रसले ल्याएको दशैं

शिबराज पन्थी, गढवा ५ कार्तिक ।

बुधवार गढवा ४ की साबित्रा केसीले ४ बर्षीय छोरी दिक्षा केसीलाई रेडक्रसले पैसा दिन्छ भन्ने खबर थाहा पाएर पिठ्यूमा बोकेर रेडक्रसको गढवा स्थीत कार्यालयमा ल्याइन् ।

त्यस्तै गढवा ६ की प्रभा चौधरीले पनि ४ बर्षीय बालक पवन चौधरीलाई रेडक्रस कार्यालयमा ल्याइन् । उता गढवा ३ की गौमला नेपालीले पनि आफ्नी छोरी मानव नेपालीलाई रेडक्रसले पैसा दिन थालेको खबर थाहा पाएर कार्यालयमा आइन् ।

उनीहरु जस्तै गढवा गाउँपालिकाका बिभिन्न वडाहरुबाट १५ जना अभिभावकहरुले आ–आफ्ना बालबालिकालाई गढवा स्थीत रेडक्रसको कार्यालयमा ल्याए । आगलागी हुँदा र बाढी पिडितमा पर्दा त्रिपाल तथा भाँडाकुडा दिने रेडक्रसले दशैंको मुखमा नगद पैसा देला भनेर कार्यक्रममा आएका केसी, चौधरी, नेपाली र अन्य १२ जनालाई नै पत्यार लागेको थिएन ।

कोभिड १९ को महामारीबाट छाकटार्न घौ-धौ भएको बेला हाम्रा बालबालिकालाई नगद सहयोग गर्दा असाध्यै खुसी लागेको छ । दशै मनाउन र बालबालिकालाई कापी किताब किन्ने पैसा पाएका छौं–दशा लागेको बेला दशैं आएको अनुभूति भयो, अब खुसी साथ दशैं मनाउने छौं–उनीहरुले खुसी हुँदै भने । जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने सुनेका थियौ, हामीलाई कोरोनाले दुख दिएको बेला रेडक्रसले सहयोग गरेकोमा खुसी लागेको छ–बालबालिकाका अभिभावकहरुले कार्यक्रममा बताए ।

युनिसेफ नेपालको सहकार्यमा नेपाल रेडक्रसले वालसंरक्षण कार्यक्रम अन्तर्गत बुधवार गढवाका १५ जना, राजपुरका ५ जना, लमही नगरपालिकाका २ र र तुलसीपुर उपमहानगरका २ गरी जम्मा २४ जना बेसाहारा बालबालिकाहरुलाई नगद ५ हजारका दरले रकम वितरण गरेको रेडक्रसले जनाएको छ । कोरोनाको दशा लागेको वेला रेडक्रसले दशैं ल्याइदिएको बालबालिकाका अभिभावकहरुले बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति दिपककुमार यादवको अध्यक्षता एवम् गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा गढवा उपशाखामा भएको कार्यक्रममा कोरोना पोजेटिभ देखिएका र अभिभावक गुमाएका बेसाहारा बालबालिकाहरुलाई नगद वितरण गरिएको रेडक्रस दाङका सभापति नारायण आचार्यले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले कोभिड १९ को बिपद प्रतिकार्यमा स्थानीय सरकारसंगको समन्वय सहकार्यमा रेडक्रसले क्वारेण्टाइन ब्यवस्थापन, राहात वितरण, स्वास्थ्य सामाग्री वितरण र आइसुलेशन ब्यवस्थापन लगायतका कामहरुमा सहयोग गर्दे आएकोमा धन्यवाद ज्ञापन ब्यक्त गरे । स्वास्थ्य मन्त्रालयले फरक-फरक बिज्ञप्ती जारीगर्दा स्थानीय सरकारलाई कोरोनाको संकट ब्यवस्थापन गर्न केही असहज भएपनि स्वास्थ्य सतर्कता अपनाउदै कोरोना संग डटेर लढ्नुको बिकल्प नभएको उनले बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति नारायण आचार्य, उपसभापति मदन गौतम, गढवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बालचन्द्र ठकुरी हमाल, इलाका प्रहरी गढवाका प्रमुख राजकुमार भट्ट र मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशिल बस्नेत लगायतले बोलेका थिए ।

सो अवसरमा बडादशैं, दिपावली, छठपर्व र नेपाल संबतको शुभकामना आदान-प्रदान समेत गरिएको थियो । कार्यक्रमको सहजीकरण रेडक्रस दाङका मन्त्री प्रकाश श्रीबन्धवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे