LISTEN LIVE RADIO

राप्ती गाउँपालिका क्षेत्र भित्रका विद्यालयहरुलाई पौष मसान्त भित्र परीक्षा सम्पन्न गर्न निर्देशन



राप्ती गाउँपालिका क्षेत्र भित्रका विद्यालयहरुलाई पौष मसान्त भित्र परीक्षा सम्पन्न गर्न निर्देशन

सिसहनियाँ २७ पुस ।  राप्ती गाउँपालिका स्तरीय संकट व्यवस्थापन समितिको बैठकले गाउँपालिका भित्रका विद्यालयहरुलाई पौष मसान्त भित्र परीक्षा सम्पन्न गर्न निर्देशन दिएकाे छ ।समितिको साेमवार बसेको बैठकले  कोभिड-१९ को रोगको तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा हाल सञ्चालनमा रहेका परीक्षाहरु २०७८ पौष मसान्त भित्र स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरी सम्पन्न गर्न विद्यालयहरुलाई निर्देशन दिएकाे हाे ।

परीक्षा सम्पन्न भएका कक्षाका विद्यार्थीहरुलाई हाल २०७८ माघ १५ गते सम्मको लागि परियोजना कार्यको रुपमा विद्यार्थीहरुलाई गृहकार्य दिने र रेडियो टेलिभिजनबाट प्रशारण भईरहेका कक्षामा सहभागी हुन निर्देशन दिने वा अनलाइन प्रणाली मार्फत सिकाइ सहजीकरण गर्ने भए विद्यार्थीहरुलाई लिक उपलब्ध गराउने वा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम उपयुक्त वैकल्पिक विधिहरुको अवलम्बन गरी सिकाइ सहजीकरण गर्ने व्यवस्था मिलाउन भनेकाे छ ।

त्यस्तै विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु वा १८ वर्ष भन्दा माथिका विद्यार्थी र व्यक्तिहरु कोभिड-१९ रोग विरुद्धको खोप लगाउन छुटेको भए गाउँपालिका वा नजिकको स्वास्थ्य संस्थाको नियमित सम्पर्क रही खोप लगाउन अनुराेध समेत गरेकाे छ ।  विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने कार्यका लागि विवरण तयारी अवस्थामा राख्ने र नजिकको स्वास्थ्य संस्था वा गाउँपालिकामा प्रधानाध्यापकले नियमित सम्पर्कमा रहने,  शिक्षक तथा कर्मचारीहरु विदाको अवधीमा प्रधानाध्यापकको नियमित सम्पर्कमा रही सिकाइ सहजीकरणका लागि तयारी अवस्थामा रहने तथा प्रधानाध्यापक गाउँपालिकाको नियमित सम्पर्कमा रहन अनुराेध गरेकाे शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिएका छन् ।

 

विद्यालयहरुले अर्को सूचना जारी नभए सम्मका लागि अभिभावक दिवस र वार्षिक उत्सब लगायतका सार्वजनिक समारोहहरुको आयोजना नगर्ने,  नेपाल सरकारले तोके बमोजिमको मापदण्ड भित्र रहि स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णपालना हुने गरी पालिकाबाट अनलाइन वा अफलाइन शिक्षक कर्मचारीसँग सम्बन्धित क्षमता विकास तालिम कार्यक्रम आयोजना गर्न सक्ने भएकोले तयारी अवस्थामा बस्ने समेत भनेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे