LISTEN LIVE RADIO

देउखुरीको लालमटियामा माघी मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुने



देउखुरीको लालमटियामा माघी मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुने

लालमटिया १२ पुस । देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा माघी मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजना तथा रेडियो राप्तीद्धारा गठित समावेशी रेडियो राप्ती स्रोता क्लवको सहआयोजनामा माघी मेला तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुन लागेको हो ।

समुहका अध्यक्ष पहलवान चौधरी (अनुप)को अध्यक्षतामा सोमवार लालमटियामा बसेको बैठकले सो निर्णय गरेको हो । बिगतका बर्षहरुमा सञ्चालन हुँदै आएको मेला १ वर्ष कोरोना महामारीले स्थगित भएकोमा महामारी कम भएपछि यस वर्ष माघी मेला सञ्चालन गर्न लागिएको समुहका अध्यक्ष पहलवान चौधरी (अनुप) ले जानकारी दिएका छन् । धार्मिक तथा पर्यटकीय स्थलको संरक्षणका लागि “हाम्रो संस्कृति, हाम्रो पहिचान स्थानीय संस्कृति जोगाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ पुस ३० गते देखि माघ २ गते सम्म मेला सञ्चालन हुने अध्यक्ष चौधरीले बताएका छन् ।

कार्यक्रम अन्तरगत पुस ३० गते साँझ ८ बजे देखि खुल्ला साँस्कृतिक कार्यक्रमका साथ विभिन्न कलाकार सँगै स्थानीय मगर, थारु साँस्कृतिक प्रस्तुती रहने छ । त्यसै गरी माघ १ गते साँझ ८ बजे देखि प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रम गरिने र माघ २ गते मेलाको समापन गरिने अध्यक्ष चौधरीले बताए । मेलामा १ सय ५० स्टल रहने, ६० हजार दर्शकले अवलोकन गर्ने र करिव १ लाख आम्दानी गर्ने लक्ष्य राखेकोे आयोजकले जानकारी दिएको छ ।

मेलामा कालिकादेवी मन्दिर दर्शन, हर्षेडाँडा ताल, पुशवृद्ध आश्रम तथा गिद्ध संरक्षण केन्द्रको अवलोकन, रमणीय वन जंगल अवलोकन, पिकनिक स्पोट, बच्चाका खेलौना, विभिन्न गेम आइटम, गाडी पार्किङ र बिजुली बत्तीको राम्रो व्यवस्था भएको आयोजकले बताएको छ । मेलामा थारु, मगर, गुरुङ जातीका परिकारको स्वाद समेत लिन सकिने बताइएको छ ।

मेला तथा कार्यक्रमलाई थप व्यवस्थीत र प्रभावकारी बनाउन समुहका अध्यक्ष पहलवान चौधरी (अनुप) को संयोजकत्वमा १३ सदस्यीय मेला व्यवस्थापन समिति, समुहका सदस्य रामप्रसाद अधिकारीको संयोजकत्वमा ३ सदस्यीय स्टल निमार्ण तथा व्यवस्थापन समिति, समावेशी रेडियो राप्ती स्रोता क्लवका अध्यक्ष तथा सामुदायिक वनका सदस्य लालमणी भुसालको संयोजकत्वमा ३ सदस्यीय मञ्च निमार्ण तथा साँस्कृतिक समिति, समुहका सल्लाहकार जुम्मन मियाँको संयोजकत्वमा ३ सदस्यीय विद्युत तथा पानी व्यवस्थापन समिति, समुहका कोषाध्यक्ष लोकमाया तामाङको संयोजकत्वमा ५ सदस्यीय आर्थिक संकलन समिति, मन्दिर व्यवस्थापन समितिका सदस्य आषिस न्यौपानेको संयोजकत्वमा २० सदस्यीय स्वम्सेवक समिति, समुहका सदस्य अन्जना केएमको संयोजकत्वमा ३ सदस्यीय स्वागत सत्कार समिति समेत गठन गरिएको छ ।

मेलामा स्टल बुकिङ गर्न चाहानेले सामुदायिक वनका अध्यक्ष पहलवान चौधरी (अनुप) को मोबाइल नम्बर ९८४७९१३१०८, उपाध्यक्ष बेदुलाल सुवेदीको मोबाइल नम्बर ९८४७८५८६०८, सचिव शिला पौडेलको मोबाइल नम्बर ९८१०८१४९९१ र कोषाध्यक्ष लोकमाया तामाङको मोबाइल नम्बर ९८२२९१०४१० मा सम्पर्क राख्न सकिने आयोजकले बताएको छ ।

स्टल बुकिङका लागि पुस ३० गते बेलुका ४ बजे सम्म गरिसक्नु पर्ने बताइएको छ । थारु, मगर तथा गुरुङ जातीको स्थानीय परिकार तथा भेषभुसा, संस्कृति झल्किने खालको व्यापार व्यवसायीलाई निशुल्क स्टल उपलब्ध गराइने अध्यक्ष चौधरीले बताए । लालमटिया बजारको उत्तर तर्फ रहेको खेलमैदानमा यस वर्ष मेला सञ्चालन गरिन थालिएको छ । विगतका वर्षहरुमा भने हर्षेडाँडा धार्मिक तथा पर्यटकीय स्थलमा मेला सञ्चालन हुँदै आएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे