राप्ती गाउँपालिकाको मसुरीयामा प्रहरी चौकी स्थापना, शान्ति सुरक्षामा ध्यान दिन आग्रह



राप्ती गाउँपालिकाको मसुरीयामा प्रहरी चौकी स्थापना, शान्ति सुरक्षामा ध्यान दिन आग्रह

ओमप्रकाश गुप्ता, भालुवाङ ३० असोज ।

६५ औँ प्रहरी दिवसको अवसर पारी दाङ देउखुरीको राप्ती गाउँपालिका ३ मसुरीयामा प्रहरी चौकी स्थापना गरिएको छ । २०७६ साल असोज ७ गतेको मन्त्री परिषद् बैठकले चौकी स्थापना गर्न दिने निर्णय भए बमोजिम चौकी स्थापना गरिएको हो । १५ जनाको दरबन्दी रहेको चौकीमा १ जना प्रहरी सहायक निरिक्षक, ३ जना प्रहरी हवल्दार, १० जना प्रहरी जवान र १ जना कार्यालय सहयोगी रहने बताइएको छ ।

चौकी स्थापना सँगै चौकी प्रमुखको जिम्मेवारी प्रहरी सहायक निरिक्षक कर्णबहादुर शाहीले सम्हालेका छन् । यसै बिच प्रहरी चौकीको शुक्रवार एक कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिएको छ । चौकीको रविन काटेर सुभारम्भ गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले राप्ती गाउँपालिका क्षेत्रमा बढ्दो विकृती विसंगती, चोरीडकैती, लागुऔषध ओसारपसार जस्ता गतिविधी नियन्त्रण गरी शान्ति सुरक्षा कायम गराउन निर्देशन दिएका थिए । साथै अध्यक्ष सुवेदीले राप्ती नदीमा हुने अवैध नदीजन्य पदार्थ उत्खनन्मा विषेश निगरानी राख्न अनुरोध समेत गरेका छन् ।

प्रमुख अतिथि समेत रहेका अध्यक्ष सुवेदीले दशै तिहार जस्ता महत्पुर्ण चार्डपर्व नजिकिए सँगै चोरीका घटना तथा अपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै उच्च सतकर्ता अपनाउन पनि आग्रह गरेका छन् । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले प्रहरी कुनै माध्यमबाट सञ्चालित नभई स्वचालित हुनुपर्ने सुझाव दिएका थिए । त्यस्तै उनीहरुले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी एक्लैले नसक्ने हुँदा नागरिकहरुले पनि साथ सहयोग गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक भुवन भट्टले जनप्रतिनीधि, राजनीतिकदल भद्रभलादमी तथा नागरिक अगुवाहरुकै सल्लाह सुझाव अनुसार काम गर्ने र राप्ती गाउँपालिका भित्र शान्ति सुरक्षा अमन चयनका लागि आफु निरन्तररुपमा खट्ने बताएका छन् ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक भुवन भट्टको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चौधरी, नेकपा राप्ती गाउँपालिका इन्चार्ज किरण भण्डारी, पुर्व लालमटिया गाविस अध्यक्ष दोर्ण भुसाल, पुर्व प्रहरी निरिक्षक तथा समाजसेवी बहादुरकर्ण केसी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरिक्षक लक्ष्मीप्रसाद कंडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे