देउखुरीको नयाँबस्तीमा कुखुरा चोर्न खोजेको आरोपमा युवकको कुटपिट गरी हत्या



देउखुरीको नयाँबस्तीमा कुखुरा चोर्न खोजेको आरोपमा युवकको कुटपिट गरी हत्या

ओमप्रकाश गुप्ता, भालुवाङ ३० असोज । दाङको देउखुरीमा कुखुरा चोर्न खोजेको आरोपमा बाबुछोराले कुटपिट गरि एक युवाको हत्या गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती निवासी १८ बर्षीय नरेश चौधरीको हत्या भएको छ । विहिवार बेलुका ८ बजेतिर छिमेकी २५ बर्षीय ओमप्रकाश घर्ती र उनका ६० बर्षीय बुवा खलबहादुर घर्तीको कुटपिटबाट चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरिक्षक भुवन भट्टले जानकारी दिएका छन् ।

बेलुका ८ बजेतिर कुखुरा कराएपछि घर्ती परिवारले नरेशलाई कुखुरा चोर्न गएको आरोप लगाएपछि चौधरी र घर्ती परिवारको विवाद भएको थियो । बादविवादका क्रममा बाबु छोरा मिलेर हात र लाठीले चौधरी माथि कुटपिट गरेपछि उनी घाइते भएका थिए । घाइते चौधरीलाई उनकी आमाले रातिनै घर लगे पनि उपचार हुन नसक्दा बढि रक्तश्रावाका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ ।

लाठीको आक्रमणबाट चौधरीको टाउको लगायतका विभिन्न ठाउँमा चोट लागेको थियो,त्यस मध्यमा टाउकोमा बढि चोक देखिएको छ’–प्रहरी निरिक्षक भट्टले भने–‘कुटपिटका कारण चोटसँगै रक्तश्राव भएर मृत्यु भएको हुन सक्छ । मृतकका परिवारले विहान ५ बजेपछि मात्रै प्रहरीलाई खवर गरेपछि प्रहरी घटना स्थल पुगेको थियो । चौधरीको शव भने पोष्ट मार्टमका लागि लमही अस्पतालमा लगिएको छ । चौधरीलाई कुटपिट गरि हत्या गरेको अभियोगमा बाबु छोरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे