पशुमा लाग्ने लम्पी स्किन रोगको पशु विशेषज्ञद्धारा चेकजाँच ( समाचार प्रभाव)



पशुमा लाग्ने लम्पी स्किन रोगको पशु विशेषज्ञद्धारा चेकजाँच ( समाचार प्रभाव)

ओमप्रकाश गुप्ता, भालुवाङ २८ असोज ।

पशुमा देखिएको लम्पी स्किन रोगको पशु विशेषज्ञद्धारा चेकजाँच सुरु गरिएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका क्षेत्रमा पशुहरुमा लम्पी स्किन संक्रमण देखा परेपछि त्यसको समाचार देउखुरी टुडे डटकम लगायतका सञ्चार माध्यमबाट प्रकाशन प्रसारण भएपछि पशु सेवा शाखाको आब्हानमा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको टोलीले चेकजाँच सुरु गरेको पशुसेवा शाखा प्रमुख शेरबहादुर हमाल रिजालले जानकारीदिएका छन् ।

राप्ती गाउँपालिका क्षेत्रमा ५ वटा पशुमा लम्पी स्किन संक्रमण देखापरेपछि पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका डाक्टर कृष्णराज पौडेलको समन्वयमा डा. जितेन्द्र श्रेष्ठ र पशु स्वास्थ्य प्राविधिक मनराज सुनारको टोलीले विरामी पशुको रगत, दिशा, पिसाव, छाला, घाँउको पिप संकलन गरि पुर्ण चेकजाँचको लागि लगेको पशुसेवा शाखा प्रमुख रिजालले जानकारी दिएका छन् । लम्पी स्किन संक्रमण देखा परेका बिरामी पशुको नतिजा आगामी शुक्रवार सम्म आइपुग्ने र थप रोग बारे जानकारी तथा उपचार पत्ता लगाउन सकिने डा. जितेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
डा.श्रेष्ठले पशुपालक कृषक, राप्ती गाउँपालिकाका पशु सेवा प्राविधिक, पशु स्वास्थ्य प्राविधिक, नायव पशु स्वास्थ्य प्राविधिक, तथा पशु स्वास्थ्य कार्यकर्तालाई लम्पी स्किन रोग र सो रोगबाट पशुलाई बचाउने उपायको वारेमा जानकारी गराएका थिए । लम्पी स्किनका विरामी पशुको स्वास्थ्य लाभको लागि पशुसेवा कार्यालयवाट तागतदार तथा शक्त्तिबद्धक औषधी उपलब्ध गरिएको छ । यो रोग संक्रमित गाईभैंसीबाट जन्मिएका बाच्छाबाच्छी र पाडापाडीमा समेत सर्दछ ।

रोगको ठोस उपचार नभएकाले प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नुपर्छ । यस रोगविरूद्धको खोप हाल नेपालमा उपलब्ध नभएको हुँदा रोग देखिएको क्षेत्रबाट गाइभैंसीको ओसारपसार नियन्त्रण गर्नु र गोठ वरिपरिको वातावरण सफा राख्नु नै रोगविरूद्धको लडाइँको मुख्य हतियार हरेको शाखा प्रमुख शेरबहादुर हमाल रिजालले जानकारी दिएका छन् । लम्पी स्किन रोग विशेष गरी गाई र भैंसीमा देखिने काप्री पक्स बिषाणु समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो । पहिलो पटक अफ्रीकि मुलुक जिम्बाबेमा सन् १९२९ देखा परेको यो रोग सन् २०१२ जुलाईमा बगलादेश र चिन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखापरेको थियो । पछिलो समय नेपालमा पनि यो रोग भित्रिएको पुष्टि भएको छ । केन्द्रीय पशु रोग अन्वेषण शाखामा गरिएको परिक्षणमा नेपालमा यो रोग भित्रिएको पुष्टी भएको हो ।

यो रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छोड्ने समस्या हुन्छ र पशुको मृत्यु समेत हुन्छ । दूध उत्पादनमा निकै नै नकारात्मक असर पार्न सक्ने यो रोग फैलिदै जाँदा दूधमा आत्मनिर्भर हुने लक्ष्यमा ठेस पुग्ने मात्र नभई मुख्यतया साना किसानको जीविकोपार्जन, दुग्ध क्षेत्रबाट प्राप्त रोजगारी तथा खाद्य सुरक्षामा समेत नकारात्मक असर पर्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे