अविरल वर्षाले देउखुरीका विभिन्न गाउँ डुवानमा, केही घरहरुमा क्षती



अविरल वर्षाले देउखुरीका विभिन्न गाउँ डुवानमा, केही घरहरुमा क्षती

भालुवाङ ३१ असार । दाङमा आज विहान देखि परेको अविरल वर्षाका कारण देउखुरीका विभिन्न गाउँ डुवानमा परेका छन् । अविरल वर्षाका कारण गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे (कलौनी) क्षेत्र पूरै जलमग्न भएको छ । भने केही घर डुबानमा परेका छन् ।

अविरल वर्षाको कारण जंगलमाथि बाट आएको पानी जम्मा भएर कमल सुनार, शरद भट्टराई, मिनबहादुर जैंशी र नारायण गुरुङको घर तथा गोठमा पानी पसेको छ । भने घरमा खासै क्षति नभएको स्थानीय भानु जिएमले जानकारी दिएका छन् ।

यस्तै अबिरल बर्षाका कारण गढवा गाउँपालिका वडा नम्बर ५ को मघरी र लालपुर गाउँ डुबानमा परेको छ । २५ घर डुबानमा परेको स्थानीय किरण पौडलले जानकारी दिए । भालदोन्द्रे खोलाको पानी बस्तीमा पस्दा डुबानमा परेको हो ।

सिठा र माटोबाट बनेका घरहरुका भित्ता भत्किएका छन् । जसमा सेती चाैधरी सिरता चाैधरी दुखीराम चाैधरी कृष्ण चाैधरी प्रमाेद चाैधरी हरिप्रसाद चाैधरी छेदु चाैधरी छुनीलाल चाैधरी प्यान्टु चाैधरी अर्जुन चाैधरी दुखीराम चाैधरी शान्त चाैधरी र ज्याेती चाैधरीकाे घरमा क्षती पुगेकाे छ । घरका भित्ता भत्किएका छन् । भने अन्नपात लत्ता कपडा भिजेकाे स्थानीय पिडितहरुले बताएका छन् । मघरी जाने बाटो नजिक पक्की नाली बनाइएको छ । नालीले पानी निकास थुनिएकोले डुबान भएको पौडेलले बताए । यसै गरी राप्ती नदीमा आएको बाढीका कारण गढवा जोड्ने पक्की पुलको दक्षिण किनारको एप्रोचमा क्षति पुगेको छ । क्षतीको विवरण भने आउन बाँकी रहेको छ ।

यता राप्ती गाउँपालिकाको वडा नम्बर १ भालुवाङ्ग आँपखोली टोलको आँपखोली खहरे खोलाले करिब १०० भन्दा बढी घरधुरी बाढीको उच्च जोखिममा रहेको स्थानीय टेकबहादुर महतराले जानकारी दिएका छन् । त्यसै गरी राप्ती गाउँपालिका वडा नम्बर ५ मा किसानले लगाएको धान तथा तरकारी बाली डुवानमा परेको छ ।

राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका र राजपुर गाउँपालिकाका केहि वडा का बस्ती समेत डुवान तथा जोखिममा रहेको खवरहरु आउन थालेको छ । वर्षा अझै लम्बिने देखिएकोले यस क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने स्थानीयहरुको भनाई ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे