दाङमा रेड पाण्डाको छाला र टल्कने ढुंगासहित दुई पक्राउ



दाङमा रेड पाण्डाको छाला र टल्कने ढुंगासहित दुई पक्राउ

दाङ ३० असार । दाङमा दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित दुई व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेत जिल्लाको भेरीगंगा नपरपालिका वडा नं. ८ का ५६ वर्षीय नरबहादुर बस्नेत र जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका वडा नं. ७ का ४८ वर्षीय डिलबहादुर रावत छन्।

उनीहरूको साथबाट २ फिट १० इञ्चको  रेड पाण्डको छाला र काइनेटिक (टल्कने ढुंगा) सानो ठूलो गरी ३२ वटा बरामद भएको प्रहरीले सार्वजनिक गरेको छ।  जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जारी गरेको प्रेस वक्तव्यमा बुधबार बिहान ८ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १६ गरुवा गाउँबाट उनीहरूलाई पक्राउ गरिएको हो।

प्रतिबन्धित रेड पाण्डाको छाला विक्री-वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता रिजालले उल्लेख गरेका छन्।  तर, उच्च स्रोतले दिएको सूचना अनुसार उनीहरूलाई घोराहीभन्दा करिब ४८ किलोमिटर पश्चिमको बबई गाउँपालिकास्थित हापुरे जंगल क्षेत्रबाट पक्राउ गरिएको हो।

सीमाना क्षेत्र सुर्खेत हुँदै पश्चिम दाङ प्रवेश गरेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको साधा पोशाकको प्रहरीले बिहान करिब साढे ६ बजेतिर हापुरेस्थित ट्वाङखोला क्षेत्रबाट नियन्त्रणमा लिएको स्रोतले जानकारी दियो। ‘मैले मेरै आँखाले उनीहरूलाई पश्चिम दाङको बबई गाउँपालिकाबाट नियन्त्रणमा लिएको देखेको हुँ,’ स्रोतले भन्यो, ‘बबईबाट नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई घोराहीबाट नियन्त्रणमा लिएको भनेर प्रहरीले यसरी झूटो सूचना सर्वाजनिक गर्नु रहस्यमय हो।

जिल्ला प्रहरीको सक्रियता देखाउन घोराही क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको देखाइएको हुन सक्ने अनुमान गरिएको छ। तर, पक्राउ परेको ठाउँ र समय समेत प्रहरी कार्यालयबाटै तोडमोड गरी झूटो विवरण सार्वजनिक गर्नुले प्रहरीको विश्वसनीयता कमजोर बन्दै गएको देखिएको छ।

पछिल्लो समय जिल्लाका विभिन्न प्रहरी इकाई क्षेत्रमा भएका घटनाबारेको  सूचना जिल्ला प्रहरी कार्यालयमार्फत सार्वजनिक गर्दै आइएको छ। पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे