LISTEN LIVE RADIO

मुख्यमन्त्री पोखरेलको सपथ रोक्न माग गर्दै प्रदेश प्रमुख कार्यालयमा धर्ना



मुख्यमन्त्री पोखरेलको सपथ रोक्न माग गर्दै प्रदेश प्रमुख कार्यालयमा धर्ना

 बुटवल १९ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्ति गरिएकोमा विपक्षी गठबन्धनका नेताहरुले आपत्ति जनाएका छन् । अल्पमतमा परिसकेका पोखरेललाई नियुक्त नगर्न माग गर्दागर्दै नियुक्त गरिनु असंवैधानिक भन्दै माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाका नेताहरुले आपत्ति जनाएका हुन् ।

४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद शाहलाई भेटेर उनीहरुले सरकारको नेतृत्वमा दावी गर्दै पोखरेलको सपथग्रहण रोक्न माग गरेका छन् । विपक्षी दलका सांसदहरुले सपथ रोक्न माग गर्दै प्रदेश प्रमुखको कार्यालयबाहिर धर्ना दिएका छन् । ‘अल्पमतमा रहेका व्यक्तिलाई मुख्यमन्त्री नियुक्त नगर्न दुई घण्टा अगाडि भेटेर जानकारी गराउँदा गराउँदै नियुक्त गर्नु आपत्तिजनक, निन्दनीय र असंवैधानिक छ’–मुख्यमन्त्रीमा प्रस्तावित कूलप्रसाद केसीले भने, ‘एमालेको बहुमत छैन, सपथग्रहण रोकिनुपर्छ ।’

पोखरेललले आफ्नो पक्षमा रहेका भनेकामध्ये एकजना सांसदले माओवादी केन्द्र रोजेको, एकजनाले  राजीनामा दिएका  र दुईजनाले आफूहरुको पक्षमा हस्ताक्षर गरेकाले आफूहरुको पक्षमा स्पष्ट बहुमत पुगेको केसीले प्रदेश प्रमुखलाई जानकारी गराए । ८१ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार बनाउन ४१ जना सांसदको आवश्यक पर्छ । विपक्षी गठबन्धनमा सभामुखसहित ४३ सांसद पुगेपछि एमालेमा ३७ सांसद मात्र भएका छन् । सांसद दृगनारायण पाण्डेले राजीनामा दिएका छन् भने  अजय शाही र धर्मबहादुरलाल श्रीवास्तवले कूलप्रसाद केसीलाई मुख्यमन्त्रीमा समर्थन  गरेका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले अल्पमतमा पुगेको दलको नेतालाई थाहा हुँदाहुँदै मुख्यमन्त्रीमा नियुक्ति गर्नु सरासर असंवैधानिक र अनुचित भएको बताए । आफूहरुले सपथ नगराउन माग गर्दा आधा घण्टा समय मागेपनि सपथ गराएरै छाड्ने संकेत आएको भन्दै यसको कानूनी उपचार खोज्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे