गढवामा प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ आकर्षण बढ्दै



गढवामा प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फ आकर्षण बढ्दै

गढवा १ वैशाख । गढवा गाउँपालिका वडा नं. ६ गढवाको केन्द ्रबिन्दु र बजार क्षेत्र हो । तर पनि यस वडाको दुर्गम बस्ती खबरीखुटी जान गढवाबाट झण्डै डेढ घण्टा समय लाग्छ । त्यस क्षेत्रमा पुग्न गाउँपालिकाले सडकको ट्रेयाक खोलेको भए पनि ब्यवस्थित बाटो भने छैन ।

झण्डै ८६ घरधुरी रहेको सो बस्तीमा गाउँपालिकाले बिजुलीको पहुँच भने पुगाएको छ । गाउँमा गाडी सजिलै पुग्नसक्ने र बर्षात्को समयमा सडक नबिग्रीने गरि बाटो खन्न लागेका हौ । गाउँपालिकाको रोजगार सेवाकेन्द्रमा सुचिकृत हामी गाउँका सबै बेरोजगार नागरिकहरु मिलेर बाटो खन्दै नाली बनाउदै छौं–स्थानीय अगुवा भरत घर्तीले भने ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले एकातिर हामीलाई रोजगार दिएको छ भने गाउँमा पुग्न बाटो पनि बन्ने भएको छ । यसर्थ पनि हामी यो कार्यक्रमको दोहोरो फाइदाबाट आकर्षित छौं–घर्तीले भने । नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देउखुरीको गढवा गाउँपालिकामा कार्यक्रम प्रति आकर्षण बढ्दै गएको पाइएको हो ।

हालसम्म यो कार्यक्रम संचालनका लागि गाउँपालिकाका सबै वडामा गरि कुल २९ वटा योजनाहरुको प्राबिधिक स्टिमेट भएर काम अगाडी बढीरहेको रोजगार सेवाकेन्द्रका संयोजक अशोक यादवले जानकारी दिए । जस मध्ये वडा नं. १ मा झण्डै ६ लाख ५० हजारका २ वटा योजनाहरु सम्पन्न भै भुक्तानी प्रकृयामा रहेका छन् भने वडा नं. ८ कोइलाबास बजार क्षेत्रका सबै गल्लीहरुमा ढुंगा सोलीङ, स्तरोन्नती तथा कालोपत्रेको काम अगाडी बढीरहेको छ ।

यसै गरी वडा नं. ६ को दर्गम बस्ती खबरीखुटी पुग्ने गढवा–खबरी सडक स्तरोन्नती तथा नाली निर्माणको काम सम्पन्न भइसकेको प्रधानमन्त्री रोजगार सेवा केन्द्रले जनाएको छ । प्राबिधिक स्टिमेट भएका ८८ लाख ८७ हजारका २९ योजनाहरु मध्ये हालसम्म ४ वडा योजनाहरुको १८ लाख ३१ हजारको काम सम्पन्न भएको र अन्य योजनाहरुको काम तिब्र गतिमा अगाडी बढीरहेको गाउँपालिकाले जनाएको छ ।

देउखुरीको गढवा गाउँपालिकामा ५ सय ४० जना महिलाहरु र ५ सय ३५ पुरुषहरु गरि कुल १ हजार ७५ जना रोजगार सेवा केन्द्रमा सुचिकृत भएको रोजगार सेवा केन्द्रले जनाएको छ । जसमध्ये वडा नं. १ बाट ३ सय १२ जना, वडा नं. २ बाट २१ जना, वडा नं. ३ बाट २ सय ४२ जना र वडा नं. ४ बाट २ सय १२ जनाको नाम सुचिकृत भएको छ ।

त्यस्तै वडा नं. ५ बाट ३३ जना, वडा नं. ६ बाट १ सय ११ जना, वडा नं. ७ बाट ८३ जना र वडा नं. ८ बाट ६१ जनाको नाम गाउँपालिकामा सुचिकृत भएको शाखा संयोजक अशोक यादवले जानकारी दिए । रोजगार सेवा केन्द्रमा सुचिकृत नागरिकहरुलाई न्यूनतम १ सय दिनको रोजगारी दिने र न्यूनतम पारिश्रमीक प्रतिब्यक्ति दैनिक ५ सय १७ रुपिया ज्याला उपलब्ध गराउने कार्यक्रमको नियम रहेको बताइएको छ । बेरोजगार नागरिकहरुलाई ज्यालादारी सिष्टमबाट रोजगार दिने यस कार्यक्रमको लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे