LISTEN LIVE RADIO

नौमुरेको सम्भाव्यता अध्ययन अन्तिम चरणमा, एक खर्ब छ अर्ब रुपियाँ लागत अनुमान



नौमुरेको सम्भाव्यता अध्ययन अन्तिम चरणमा, एक खर्ब छ अर्ब रुपियाँ लागत अनुमान

भालुवाङ २३ माघ । प्युठान र अर्घाखाँचीको सिमानामा पर्ने ‘नौमुरे’ बहुद्देश्यीय आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म आयोजनाको भौगोलिक अध्ययन, डिजाइन, ड्रिलिङ, लेआउटलगायतको काम सकिएको र वातावरणीय प्रभाव मूल्याङ्कन(ईआईए)को काम भइरहेको आयोजनाका इन्जिनियर शङ्करबहादुर साउदले बताए । उनका अनुसार आयोजनाको सम्भाव्यता अध्ययनको काम चैतभित्र पूरा भइसक्नेछ ।

कम्तीमा छ वर्षभित्र निर्माण सम्पन्न गर्न सकिने भनिएको यो आयोजनाको लागत अनुमान एक खर्ब छ अर्ब रुपियाँ अनुमान गरिएको छ । आयोजनाअन्तर्गत नौमुरे, लामाताल र सुरइनाका गरी तीनवटा जलविद्युत् योजना बनाउने सरकारको योजना छ ।

आयोजनाको उत्पादन क्षमता २१८.३४ मेगावाट रहने र १६९ मिटरको ड्याम बाँधेर नौमुरेलाई जलाशययुक्त बनाउने प्रस्ताव गरिएको छ । नौमुरेमा मुख्य बाँध बनाउँदा करिब १८ वर्गकिलोमिटर क्षेत्र डुबानमा पर्ने आयोजनाको अध्ययन निष्कर्ष छ ।

त्यसैगरी लामातालमा सहायक बाँध वनाएर कपिलवस्तु र बडकापथ तथा प्रगन्ना र सिक्टा सिँचाइलाई पानी लैजाने गरी विद्युत् विकास विभागले अध्ययन गरेको इन्जिनियर साउदले बताए ।

यो बाँधले १.२२ वर्गकिलोमिटर क्षेत्र डुबानमा पर्ने इन्जिनियर साउदले बताउनुभयो । यसबाट आठ मेगावाट बिजुली उत्पादन हुने अनुमान छ । त्यस्तै लामातालबाट निस्केको पानी कपिलवस्तुको सुरइनाकामा लगेर अर्को विद्युत् गृह निर्माण गर्ने प्रस्ताव गरिएको छ । यसबाट ५४.७ मेगावाट बिजुली उत्पादन हुने आयोजनाको अनुमान छ ।

आयोजना अध्ययन टोलीका प्रमुख डा. नारायणभक्त श्रेष्ठले यी संरचना बनेपछि कपिलवस्तुको ३० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताउनुभयो ।
नौमुरेको सर्वेक्षण अध्ययन २०४४ मै भएको थियो भने त्यसबेला सरकारी विशेषज्ञ टोलीले ९० मिटरको बाँध निर्माण गरी २४५ मेगावाट विद्युत् निकाल्न सकिने प्रतिवेदन बुझाएको थियो ।

यता विद्युत् विभागले अहिले गरिरहेको अध्ययनमा आयोजनाको कुल उत्पादन क्षमता २१८.३४ मेगावाट रहने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे