देउखुरीको गढवामा अपांगता भएकाहरुको स्वास्थ्य परिक्षण शिविर



देउखुरीको गढवामा अपांगता भएकाहरुको स्वास्थ्य परिक्षण शिविर

शिबराज पन्थी, गढवा ४ माघ ।

देउखुरीको गढवा गाउँपालिकाले अपांगता भएका सबै नागरिकहरुलाई परिचय पत्र उपलब्ध गराउन वडा–वडामा स्वास्थ्य शिविर संचालन गर्न थालेको छ । अपांगता भएका नागरिकहरलाई पहिलो चरणमा वडागत तहमा शिविर संचालन गरि परिचय पत्र वितरण गरेपछि पुनः दोश्रो चरणमा परिचय पत्र वितरण प्रयोजनका लागि अपांगता भएकाहरुलाई सहज होस भनी स्थानीय स्तरमा पुगेर स्वास्थ्य परिक्षण शिविर संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

गढवा गाउँपालिका अठवटै वडाहरुमा शारिरी अपांगता भएकाहरु २ सय ५३ जना,दृष्टिविहिन ६८ जना,बहिरा ५८ जना,स्वर बोलाईका ५९ जना,मानसिक तथा बौद्धिक अपांगता भएकाहरु ५७ जना,अर्टिजम अपांगता २ जना र बहु अपांगता ३८ जना गरि कुल ५ सय ४३ जना अपांगता भएका नागरिकहरु रहेको महिला तथा वालवालिका शाखाका सुरेश पौडेलले जानकारी दिए ।

गाउँपालिकाले अपांगता भएका सबै नागरिकहरुलाई वडा तहमै पुगेर परिचय पत्र वितरण गर्न थालेको उपाध्यक्ष शान्ती चौधरीले जानकारी दिनुभयो । जस अनुसार वडानं. १,२ र ३ को २ नम्बर वडा कार्यालयमा आइतवार शिविर सम्पन्न भएको र सो शिविरमा कुल २९ जनाको स्वास्थ्य परिक्षण गरिएको गाउँपालिकाका डा.रुपेन्द्र पोखे्रलले जानकारी दिए ।

यसैगरी सोमवार वडानं. ४ र ५ लाई समेटेर वडानं. ४ को कार्यालयमा र मंगलबार वडानं. ६ र ७ लाई समेटि गढवा स्वास्थ्य चौकीमा परिचय पत्र वितरण प्रयोजनका लागि स्वास्थ्य परिक्षण शिविर संचालन हुने भएको छ । त्यस्तै गढवा ८ कोइलाबासमा बुधवार शिविर संचालन गरिने र आफूलाई पायक पर्ने स्थानमा अपांगता भएका नागरिकहरलाई उपस्थितिका लागि गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे