टरिगाउँमा इन्धन डिपो निर्माणको कुरा भयाे, काम भएन !



टरिगाउँमा इन्धन डिपो निर्माणको कुरा भयाे, काम भएन !

तुलसीपुर  ८ पुस । बैशाख १ गते उद्घाटन गर्नेगरी दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्टमा युद्ध स्तरमा इन्धन डिपोको काम सुरु गर्ने भनिएपनि अहिले सम्म सुरु भएको छैन । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले गएको मंसीर ८ गते १५/१६ दिनमा काम हुन्छ भन्दै पत्रकार तथा जनप्रतिनिधीका माझमा प्रतिवद्धता व्यक्त गरेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन डिपो स्थानपनाका लागि आवश्यक पर्ने ७ कठ्ठा जग्गा उपलब्ध गराउने सहमति जनाएपछि कार्यकारी निर्देशक पौडेलको नेतृत्वमा प्राविधिक सहितको टोली तुलसीपुर पुगेर जग्गाको नापजाँच गरेर फर्किएको थियो । ६ करोड लगानिमा स्थायी इन्धन डिपो निर्माणका लागि पहिलो चरणमा जमिन फिलीङ, कार्यालय भवन, टयाङ्क तथा बाउजर मेसिन राख्नका लागि पार्किङको काम गर्ने बताइएको थियो ।

यसैबीच प्रतिवद्धता व्यक्त गरे अनुसार एक महिनासम्म पनि काम सुरु नभएपछि स्थानीयहरुले आसंका गर्न थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन डिपो स्थानपनाका लागि आवश्यक पर्ने ७ कठ्ठा जग्गा भाडामा उपलब्ध गराउने मौखिक सहमति जनाएपछि निगमले काम सुरु गर्ने भनेको थियो ।

बैशाख १ गते उद्घाटन गर्नेगरि निर्माण कार्यलाई तिब्रगतिमा अघि बढाउने र आवश्यक पर्ने आर्थिक रकम तुलसीपुर उपमहानगरपालिको एक करोड र निगमले ५ करोड खर्च गर्ने सहमति समेत भएको थियो । दैनिक ३ वटा जहाजले उडान भरेपनि एक महिनासम्म तेलले पुग्नेगरि ३० केएलका २ वटा अन्डरग्राउण्डेड टयाङ्क निर्माण गर्ने र त्यसका लागि टयाङ्क र बाउजर मेसिन खरिदका लागि समेत कार्तिक १५ गते टेण्डर आब्हान गरिएको निगमले जनाएको थियो ।

ढाँट्ने काम नहोस : तुलसीपुर चेम्बर अफ कमर्स

यता तुलसीपुर चेम्बर अफ कमर्सले विगतको जस्तो ढाँट्ने काम हुननहुने बताएको छ । ‘२०७६ सालको दशै तिहारमा त बाउजर मेसिन पक्का आउँछ भनेर निकै हल्लाखल्ला भयो,’ तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले भन्ने–‘पछि विरगंज गयो भन्ने सुनियो । अहिले पनि हात्ती आयो हात्ती आयो फुस्सा नहोस ।’ राजनीतिक खिचातानीका कारण ११ सालमा स्थापना भएको दाङको एकमात्र विमानस्थल ओझेलमा परेको भन्दै अध्यक्ष घर्तीले स्थायी समाधानका लाागि यस क्षेत्रका राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिध सबै लाग्नु पर्ने बताए ।

हामीले जग्गा दिने निर्णय गरिसक्यौ : प्राधिकरण

इन्धन डिपोको स्थापनाका लागि नेपाल नागरिक उड्यन प्राधिकरण संचालक समितिले समेत निर्णय गरेर जग्गा भाडामा दिने निर्णय गरिसकेको प्राधिकरणका दाङ प्रमुख लिला श्रेष्ठले जानकारी दिनुभयो । ‘हामीबाट काम रोकिएको छैन,’ प्राधिकरणका दाङ प्रमुख श्रेष्ठले भन्नुभयो– ‘समितिले दिने भनेर निर्णय गरी सकेको छ । निगमले पनि काम गर्दै होला ।’

यता नेपाल आयल निगमका प्रवक्ता विनित उपाध्यायले प्रशासन र टेण्डरको प्रकृयाका कारण केही ढिला भएको बताउनुभयो । ‘ हाम्रो एमडीसाव आफै गएर हेरेर पनि आउनु भएको छ,’ प्रवक्ता उपाध्यायले भन्नुभयो–‘ मैले पनि बुझ्नु पर्छ केके भएको छ भन्ने कुरा । ’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे