एकाएक गाउँमा राप्ती नदीको बाढी पसेपछि…



एकाएक गाउँमा राप्ती नदीको बाढी पसेपछि…

शिबराज पन्थी, गढवा २ पुस ।

बुधवार देउखुरी गढवाको राप्ती किनाराको बस्ति धर्मपुर गाउँमा राप्ती नदीको बाढी पस्यो । गाउँ डुबन थालेपछि लामो साइरन बज्यो, केही मानिसहरु राता झण्डा लिएर माइकिङ गदै गाउँमा बाढीको खतरा भएको संकेत गरिरहेका थिए । गाउँमा एकाएक यस्तो दृश्य देखेपछि सबै गाउँलेहरु झिटी झाम्टा बोकेर सुरक्षित स्थान तर्फ लागिरहेका थिए ।

उद्धारकर्मीहरु लाइफ ज्याकेट लगाएर डुबेका वालवालीका तथा महिलाहरु र बृद्धबृद्धाको उद्धार गर्दै थिए । कसैलाई स्टेचरमा बोकेर प्राथमिक उपचार कक्षमा लगिदै थियो त कसैलाई एम्बुलेन्समा राखेर हस्पिटल पठाइदै थियो । सुरक्षित स्थानमा घाइते भएका वालवालिकाहरुको प्राथमिक उपचार गरिदै थियो । कतै बाढी पिडितहरुलाई मनो बिमर्श प्रदान गरिदै थियो त कतै वास्तविक पिडितहरुको तथ्यांक संकलन, राहात वितरण गरिदै थियो । बाढी प्रभावितहरुलाई आबासमा राखिएको थियो ।

जहाँ राहात माग्नेहरुको अनधिकृत भिड लागेको थियो । सुरक्षा निकायलाई भिड कण्ट्रोल गर्न हम्मे हम्मे हुदै थियो । प्रहरी आएपछि अराजक भिडभाड तत्काल नियन्त्रण भयो । कसैले गुनासो कक्षमा कुरा राखे त कोहि कुरा बुझेपछि राहात नलिएर पनि फर्केको देखिन्थ्यो ।

यो दृश्य बास्तविक भने होइन । तुलसिपुर स्थित नवजागरण महिला तथा वाल संरक्षण केन्द्रले युनिसेफ नेपालको साझेदारी र गढवा गाउँपालिका संग समन्वय गरी बाढी पूर्व तयारी तथा प्रतिकार्यको चेतनामूलक कृत्रिम घटना अभ्यासको हो । देउखुरीको धर्मपुर राप्ती नदीको डुवानको उच्च जोखिमको क्षेत्र हो ।

यसैलाई मध्यनजर गरेर संरक्षण केन्द्रले तालिम प्राप्त जनशक्तिलाई पुर्नताजगी दिन तथा स्थानीय समूदायलाई सचेतना सन्देश दिन यस्तो कार्यक्रम राखेको कार्यक्रम अधिकृत उमेश खरेलले जानकारी दिए । एकाएक बस्तीमा बाढी पसेपछि समुदाय र मानिसहरुमा आउने बिपद्लाई उद्धारकर्मिहरुले कसरी उद्धार गर्छन् भन्ने अभ्यास मार्फत गाउँलेहरुलाई सन्देश प्रवाह गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति दिपककुमार यादवको अध्यक्षतामा भएको कृत्रिम घटना अभ्यासमा नागरिक समाजका संयोजक मोहनकुमार पाण्डेय, गढवा गाउँपालिका प्रधानमन्त्री रोजगार केन्द्रका अधिकृत अशोककुमार यादव, रेडक्रस इन्कोर परियोजनाका अधिकृत देवी प्याकुरेल लगायतले बाढी पूर्व तयारीको कृत्रिम घटना अभ्यासले उद्धारकर्मिलाई पुर्नताजगी हुने र समूदायमा सिकाई हुने बताए । कार्यक्रमको सहजीकरण न्यूसिपिसि तुलसीपुरका कार्यक्रम अधिकृत उमेश खरेल र सामाजिक परिचालक सिता थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे