दाङमा बढ्दै बलात्कारका घटना, एक वर्षमा ५७ वटा बलात्कारका घटना



दाङमा बढ्दै बलात्कारका घटना, एक वर्षमा ५७ वटा बलात्कारका घटना

दाङ २७ मंसिर । दाङमा बलात्कारका घटना बढ्दै गएका छन् । बालबालिका देखि बृद्धसम्म बलात्कारमा पर्ने गरेका छन् । कतिपय आफन्तीबाटै समेत बलात्कृत भएको पाइएको छ । जिल्लामा एक वर्षको अवधिमा ५७ वटा बलात्कारका घटना भएका छन् ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि अभिलेख गर्नको लागि गरिएका घटनाको पूर्व समीक्षा तथा ७२औं मानव अधिकार दिवसको अवसरमा भएको अन्तरक्रिया कार्यक्रममा इन्सेकका जिल्ला प्रतिनिधि जेएन सागरले एक वर्षको अवधिमा जिल्लामा २ सय ३१ वटा घटना भएको बताए । उनका अनुसार २६ वटा बलात्कार प्रयासका घटना भएका छन् ।

त्यसैगरेर ७ वटा यौन दुव्र्यवहार, ५० वटा कुटपिट, ८ वटा कथित बोक्सी आरोप, १३ वटा अपहेलना, १८ वटा गैरकानुनी हिरासत, एउटा यातना, १४ वटा दुव्र्यवहार, १ घरनिकाला, ३ वटा बहुविवाह, एउटा जातीय भेदभाव, १ फिरौती, ४ तालाबन्दीका घटना भएका छन् । यसैगरेर २ हत्या, १ हत्याप्रयास, ३ बालविवाह, १ बेवारिसे शव, २ बन्द, २ आत्म हत्या दुरुत्साहन, २ धम्की, ९ सम्पत्ति आगजनी, २ अखाद्य वस्तु बिक्री, अन्य ३ वटा घटना भएका छन् । भएका घटनामध्ये राज्य पक्षबाट २६ वटा, गैरराज्य पक्षबाट १ सय ९२ वटा र अज्ञात पक्षबाट १३ वटा मानवअधिककार हनन्का घटना भएका छन् ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले सामाजिक रुपान्तरण हुन आवश्यक रहेको बताए । सामाजिक रुपान्तरण हुन नसक्दा पनि मानवअधिकार घटना हुने गरेको उनको भनाइ छ । ‘नराम्रो कार्यहरु छोड्दै जानुपर्दछ’, उनले भने । जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले अहिले पनि समाजमा विभेद हट्न नसकको बताए । यसलाई परिवर्तन गरी अगाडि बढ्न आवश्यक रहेको बताए । नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले नागरिकहरुले आधारभूत आवश्यकताबाट वञ्चित हुन नहुने बताए । जिल्लामा मानवअधिकारको क्षेत्रमा सन्तोषजनक नरहेको उनको भनाइ रहेको थियो ।

जिल्ला अदालतका श्रेष्तेदार धनसिंह गिरीले कुनै पनि नागरिक कानुनी उपचारबाट वञ्चित हुन नहुने बताए । जिल्ला सरकारी वीक्ल कार्यालयका सहन्यायाधिबक्ता ढकबहादुर रावतले पछिल्लो समय बहुविवाहका घटना बढेको बताए । कारागार कार्यालयका घोराहीमा प्रमुख विष्णुप्रसाद पाण्डेले कारागारलाई सुधारगृहको रुपमा अगाडि बढाइएको बताए ।

महिला अधिकारकर्मी शुष्मा गिरीले मानवअधिकार नागरिकले प्रत्याभूत गर्न पाउनुपर्ने बताइन् । ‘सबैले आ–आफ्नो स्थानबाट सोच र व्यवहारमा परिवर्तन ल्याउन आवश्यक छ’, उनले भनिन् । महिला अधिकारकर्मी विमला योगीले राज्यले नागरिकलाई व्यावसायिक क्षमताको विकास गरी आत्मनिर्भर बनाउनुपर्ने बताइन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहजंग बुढाथोकीले मानवअधिकारका घटना उल्लंघन हुन नदिनका लागि प्रहरी संवेदनशील रहेको बताए ।

कार्यक्रममा अन्र्तपाटी महिला सञ्जालका जिल्ला अध्यक्ष सुशीला पौडेल, जिल्ला बारका उपाध्यक्ष मौसम आचार्य, श्रीमन न्यौपानेलगायतले भनाइ राखेका थिए । कार्यक्रम मानवअधिकार सञ्जाल दाङका संयोजक केशवकुमार शर्माको अध्यक्षतामा भएको थियो । महिला मानवअधिकार रक्षक सञ्जालका केन्द्रीय सचिव लक्ष्मी आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण इन्सेकका विनोद केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे