LISTEN LIVE RADIO

अपाङ्गता सवाल तथा नीतिगत कानुनी ब्यवस्था बिषयक कार्यक्रम मसुरीयामा सम्पन्न



अपाङ्गता सवाल तथा नीतिगत कानुनी ब्यवस्था बिषयक कार्यक्रम मसुरीयामा सम्पन्न

लालमटिया ३१ असार । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, लुम्बिनी प्रदेशको आयोजना तथा राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित दुई दिने अपाङ्गता सवाल तथा नीतिगत कानुनी व्यवस्था बिषयक अभिमुखीकरण कार्यक्रम शुक्रबार राप्ती गाउँपालिकाकाे सभाहल मसुरीयामा सम्पन्न भएकाे छ ।

महासंघका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । समापन कार्यक्रममा प्रमुख अतिथीकाे आसनबाट बाेल्दै अध्यक्ष बिष्टले अपांगता भएका ब्यक्तिहरुलाई सिपमुलक तालिम दिन सके अपाङ्ग भएका नागरिकहरूलाई जिवनयापन गर्न केहीहद सम्म राहत मिल्ने बताए । उनले आगामी दिनमा अपांगतामैत्री बनाउने मात्र नभई अपांगता भएका भएका नागरिकहरुको जिवनयापनमा थप सहज र सरल बनाउनका लागि स्थानीय सरकारले नीतिगत रुपमा गर्न मिल्ने कामकुराहरू आफूबाट कुनै कन्जुसाई नगर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

अध्यक्ष बिष्टले अपांगता मैत्री ब्यबहारका लागि सचेतनामुलक अभियान संचालन गर्न महिला बालबालिका शाखालाई निर्देशन समेत दिए ।

त्यस्तै समापन कार्यक्रममा बिशिष्ट अतिथिकाे आसनबाट बाेल्दै राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चाैधरीले यस आर्थिक बर्षमा धेरै थोरै भएपनि बजेट बिनियोजन गरेको र अब आउने आर्थिक बर्ष देखि अपाङ्गता सम्बन्धी कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटकाे व्यवस्था गर्ने बताइन् । उनले यस बर्ष पनि थप केही गर्न मिल्ने रहेछ भने कार्यपालिकामा निर्णय गरेर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यस्तै कार्यक्रममा राप्ती गाउँपालिकाका प्रबक्ता तथा वडा नम्वर २ का वडा अध्यक्ष पहलमान चौधरी अनुपले राप्ती गाउँपालिका भित्र अपाङ्गता सम्बन्धि आएका समस्याका बारेमा जानकारी गराए भने वडा नम्वर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीले उठेका समस्याको समाधानकाबारे आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा महिला बालविकास निरिक्षक कल्पना खनालले पनि आफ्नो मन्तब्य राखेकी थिइन् । कार्यक्रममा राप्ती गाउँपालिका भरिका जनप्रतिनिधि, बिभिन्न संघसंस्थाका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, कर्मचारी र अपांगता गएका ब्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।
समापन कार्यक्रमकाे संचालन महासंघकी कार्यक्रम अधिकृत गोमा पन्थीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे