LISTEN LIVE RADIO

निद्राले यी १० तरिकामा तपाईँको जीवन बदलिदिन सक्छ



निद्राले यी १० तरिकामा तपाईँको जीवन बदलिदिन सक्छ

एजेन्सी । रोगबाट बचाउनेदेखि बौद्धिक क्षमतामा सुधार ल्याउने, तनाव घटाउने, तौल नियन्त्रित गर्नेलगायत सबै स्वास्थ्य समस्याको एकदमै सजिलो उपाय छ भन्दा धेरैलाई पत्याउन गाह्रो हुन सक्छ । किनकि हामीलाई थाहा भएअनुसार यसका लागि उचित डायट, शारीरिक अभ्यासका कार्यक्रम, योग, ध्यानलगायत आवश्यक पर्दछ । तर अनगिन्ती अध्ययन अनुसन्धानहरुपछि यी सबै शारीरिक एवम् मानसिक लाभ हासिल गर्नका लागि केबल राम्ररी निद्रा पुर्याउन मात्र जरुरी रहेको प्रमाणित भएको छ ।

शारीरिक, भावनात्मक र मानसिक स्वास्थ्य सबैको एक मात्र औषधि निद्रा नै रहेको विज्ञहरुले धेरैपटक बताइसकेका छन् । तर राम्रो निद्रा पुर्याउन महत्वपूर्ण भए पनि त्यसलाई प्राथमिकतामा राख्ने कुरा भने सबैका लागि सहज छैन ।

विशेषगरी अहिले कोभिड महामारीका समयमा अधिकांश मानिसहरुमा निद्राको समस्या बढिरहेको डाक्टर म्याथ्यु स्किम्ट बताउँछन् । उनी प्लेडमन्ट हेल्थकेयर जर्जियाका विशेषज्ञ हुन् ।

उनले भनेका छन्, “गुणस्तरीय निद्राको अभावले हाम्रो दिनभरको गतिविधिमा मात्र नभएर यसले हाम्रो प्रतिरोधात्मक क्षमतामा पनि नकारात्मक असर गरिरहेको हुन्छ जुन सामान्य रोगहरुबाट बचाउन अधिक महत्वपूर्ण छ ।”

त्यसैले गुणस्तरीय निद्रा प्राप्त गर्ने एउटा सबैभन्दा राम्रो तरिका भनेको सुत्ने तालिका निर्धारित गर्नु हो र यसका साथै सुत्नु अगाडि खाइने खानेकुरामा पनि ध्यान राख्नुपर्छ भने सो समयमा कफीलगायत क्याफीनयुक्त पदार्थ सेवन गर्नै नहुने डाक्टर मियर क्रिगर बताउँछन् । जो येल स्कुल अफ मेडिसिनका नर्सिङ प्रोफेसर हुन् ।
क्रिगर भन्छन्, “यी सबै कुरा शरीर संचालन हुने शारीरिक घडीसँग अन्तरसम्बन्धित छन् ।”

त्यसैले पनि व्यक्तिले सुत्ने तालिका कायम राख्न सक्यो भने शरीरका लागि अति महत्वपूर्ण यी दश लाभ प्राप्त गर्न सकिने बताइएको छ–

१. शरीरलाई आफैँ आफ्नो मर्मत गर्नमा मद्दत मिल्ने

हरेक रात हामीले आँखा बन्द गरेर निदाएपछि सो समय हाम्रो शरीरभित्र र बाहिर सबै भागमा मर्मतको काम सुरु हुन्छ ।  सुतेका बेला हाम्रो शरीरले सबैभन्दा धेरै ‘ग्रोथ हार्मोन’ उत्पादन गर्दछ जसले नै शारीरमा हड्डीहरु विकसित गराउँछ ।  त्यस समयमा हाम्रा टिस्यु र मांसपेसीहरु पनि आराम गर्न पाउँछन् यसले इन्फ्लामेसन कम गराउँछ ।

क्रिगर भन्छन्, “जस्तै कुनै एउटा कार १६ घण्टादेखि चलिरहेको छ भने त्यसको हालत कस्तो हुन्छ ? त्यसैले पहिलेको सामान्य अवस्थामा फर्किन आराम र स्वःमर्मत मान्छेका लागि अति आवश्यक पक्ष हुन् । हाम्रो शरीर पनि बिना आराम घण्टौँ चलेको चल्यै गर्न सक्दैन ।” यसरी प्रत्येक अङ्गको आफ्नै घडी हुन्छ जसले हाम्रो शरीर सञ्चालन प्रभावकारी बनाउनमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

२ रोगको जोखिम घटाउँछ 

निद्रा आफैँमा रोग विरुद्ध सुरक्षा दिलाउने अधिक प्रभावकारी माध्यम हो । क्रिगरले भनेका छन्, “मान्छेले अत्यन्तै थोरै समय वा एकदम धेरै सुतेको छ भने त्यसले प्रारम्भिक मृत्युको जोखिम बढाउँछ र खतरनाक रोगहरु निम्त्याउने डर हुन्छ जस्तै मधुमेह वा मुटु सम्बन्धी समस्या ।”
तर हामीले उचित मात्रामा निद्रा पुर्यायौँ भने चाहिँ त्यसले रोग उत्पन्न गराउने सेलहरुलाई सुतेको समयमा आफैँ ठीक हुने अनि मर्मत गर्ने समय दिलाउँछ ।

३. बौद्धिक क्षमतामा सुधार ल्याउँछ 

निद्राले हाम्रो रचनात्मक क्षमतालाई जगाउँछ र बौद्धिक शक्तिमा पनि सुधार ल्याउने हुँदा कुनै पनि नयाँ कुरा सिक्ने, राम्ररी सोच्ने, सबै सम्झिरहने, समस्या समाधान गर्ने, उचित निर्णय लिने, ध्यान दिन सक्ने लगायतका क्षमतालाई बढावा दिन्छ ।सुतेपछि हाम्रा स्मृतिहरु पुनः सक्रिय भएर आउँछन् र दिमागका सेलहरुबीचको कनेक्सन पनि बलियो हुन्छ अनि जानकारीहरु छोटो बाट लामो अवधिसम्म याद रहिरहने अवस्थामा पुग्ने ‘स्लिप फाउन्डेसन’ को वैज्ञानिक लेखमा उल्लेखित छ । यसरी पर्याप्त निद्रा नपुर्याउनुले भने मान्छेमा बिर्सिने समस्या गराउँछ ।

४. स्ट्रेस घटाउँछ 

उचित समयसम्म गुणस्तरीय निद्राले व्यक्तिको मुडमा पनि फरक पार्ने गर्दछ । यसले मस्तिष्कको क्षमता बढाउनमा प्रोत्साहन मिल्ने हुनाले पनि राम्रो निद्राले भावनात्मक प्रतिक्रिया सकारात्मक राख्न मद्दत गर्दै स्ट्रेस र तनाव कम गर्छ ।

५. स्वस्थ तौल कायम राख्नमा मद्दत गर्छ 

निद्रालाई हामीले धेरैपटक ‘ब्युटि स्लिप’ पनि भन्ने गरिएको सुनेका छौँ । र वास्तवमै राम्ररी सुत्नुले अतिरिक्त बोसो घटाउने सम्भावना वृद्धि हुन्छ । जस्तै कि हाम्रो खाने चाहानालाई नियन्त्रण गर्ने दुईवटा हर्मोन हुन्छन्– ‘लेप्टिन र ग्रेलिन’ । लेप्टिनले हामीलाई अघाइसकेको आभास गराउँछ भने ग्रेलिन चाहिँ भोकसँग सम्बन्धित हुन्छ ।

त्यसैले हामीले पर्याप्त निद्रा पुर्याएका छैनौँ भने यी दुवै हर्मोनहरु गलत दिशामा जान सक्छन् । जस्तै यसमा ग्रेलिनको उत्पादन उच्च हुने र लेप्टिन चाहिँ घट्न सक्ने क्रिगर बताउँछन् । यसैको नतिजा स्वरुप व्यक्तिलाई बढी भोक लाग्ने र आवश्यक भन्दा बढी खाँदा तौल वृद्धि हुने समस्या हुन्छ । त्यसैगरी सुत्नुले हाम्रो स्ट्रेस हर्मोन ‘कोर्टिसोल’ लाई पनि सामान्य स्तरमा राख्न मद्दत गर्दछ जसले अतिरिक्त फ्याट के गर्ने भन्ने निर्धारित गर्दछ ।

६. प्रतिरोधात्मक क्षमतालाई बढावा दिन्छ 

अनियमित निद्राको समस्या भएका बिरामीहरुको प्रतिरोधात्मक प्रणालीले राम्ररी काम नगर्ने गरेको क्रिगर बताउँछन् । सुतेको बेलामा मात्र हाम्रो शरीरमा ‘साइटोकाइन्स’ नामक प्रोटिन निस्कासन हुने गर्दछ जसले प्रतिरोधात्मक प्रतिक्रिया सिर्जना गरि संक्रमणहरुलाई लक्षित गर्नमा मद्दत पुर्याउँछ ।
त्यस्तै केही वर्ष अगाडि गरिएको अनुसन्धानमा पनि निद्रा नपुगेको व्यक्तिलाई खोप लगाइसकेपछि पनि तीव्र प्रतिक्रिया नजनाउने गरेको पाइएको थियो । क्रिगर भन्छन्, “अहिले कोभिड–१९ विरुद्धको खोप निर्माण भइरहँदा यस किसिमको खोज अधिक महत्वपूर्ण मानिएको छ । ”

७. सामाजिक जीवनमा सुधार 

सुत्नुको सद्भावनापूर्ण लाभले हाम्रो सामाजिक जीवनमा प्रत्यक्ष असर गर्छ । जस्तै कि निद्रा नपुगेको मान्छे कसैसँग बोल्न अन्र्तक्रिया गर्न नरुचाउने र दिक्क मानेर बस्ने हुँदा तिनका वरपर कोही आउन मन नगर्ने क्रिगर बताउँछन् । जबकी पर्याप्त निद्रा पुर्याएका मानिसहरुमा चाहिँ आत्मविश्वास वृद्धि हुने, सहजै कुराकानी गर्न सक्ने गुण हुने उनले बताए ।

८. मानसिक स्वास्थ्य सुधार्नमा मद्दत 

मानसिक स्वास्थ्य प्रायः निद्रा र सुताइसँगै सम्बन्धित हुन्छ । यसमा कुनै पूर्व समस्या नभएको व्यक्तिलाई समेत निद्रा नपुग्दा डिप्रेसनको लक्षण देखा पर्न सक्छ । त्यसैले मानसिक बिमारीबाट जोगिनका लागि पर्याप्त समय सुत्नु अति आवश्यक रहेको क्रिगर बताउँछन् । उनका अनुसार कतिपय दिमागी रोग पर्याप्त निद्रा पुर्याउनुले ठीक पनि हुने गरेका छन् जसले स्ट्रेसबाट जोगाउनुका साथै मान्छेको मुड पनि राम्रो बनाउँछ ।
दुखाइ कम गराउँछ

२००९ को रिसर्चमा सहभागी भएकाहरुको राति सुत्ने समय बढाउँदा वा दिउँसोमा छोटो समयका लागि निदाउने गर्दा तुलनात्मक रुपमा, उनीहरु निद्रा नपुगेकाहरु भन्दा सहनशील हुने गरेको पाइएको हो । राम्ररी निद्रा पुगेका व्यक्तिको खप्न सक्ने क्षमता बढ्ने हुँदा व्यक्तिले कम दुखाइ महसुस गर्ने गरेको पाइएको छ । क्रिगरका अनुसार निद्राले मस्तिष्कको क्षमता वृद्धि गर्ने हुनाले नै त्यस्तो फाइदा पुग्ने गर्दछ ।

१०. समग्र सफलताको सम्भावना बढाउँछ 

निद्राले मान्छेको स्वास्थ्यमा सबैतर्फबाट सुधार ल्याउने हुँदा यसले व्यक्तिको उत्पादकत्व क्षमता बढाउँछ । जस्तै स्वस्थ बौद्धिक अवस्था, भावनात्मक गुण नियमित रहनु, सामाजिक जीवन राम्रो हुनले नै व्यक्तिलाई तिनको लक्ष्य प्राप्त गर्नमा मद्दत गर्दछ भने समग्र रुपमा सफल जीवन दिलाउन सक्छ ।  सीएनएन

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे