हात्तीपाइले रोगबाट गढवा जिल्लाकै उच्च जोखिममा, चैत्र २० देखि २६ गते सम्म औषधी खुवाइने



हात्तीपाइले रोगबाट गढवा जिल्लाकै उच्च जोखिममा, चैत्र २० देखि २६ गते सम्म औषधी खुवाइने

गढवा ८ चैत्र । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आव्हानमा हात्तीपाइले रोग नियन्त्रणका लागि आम औषधी सेवनको कार्यक्रम संचालन गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

जस अन्तर्गत हात्तीपाइले फाइलेरिया निवारणको आम औषधी सेवनका बिषयमा आइतवार गढवा गाउँपालिका स्तरिय अभिमुखिकरण गरिएको छ । गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा गढवा स्थित संघसंस्था, स्वास्थ्यकर्मीहरु र बिषयगत शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

गढवा गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष वालचन्द्र ठकूरी हमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले हात्तीपाइले रोगको बारेमा बिस्तृत बिवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख शाहीले हत्तिपाइले (फाइलेरीया) रोगको दाङ जिल्लाकै उच्च जोखिममा गढवा गाउँपालिका रहेको बताए ।

यहि चैत्र २० गते देखि आम औषधी सेवनको कार्यक्रम रहेकोले सबैले औषधी सेवन गर्नका लागि उनले आग्रह गरे । बिगत ११ बर्ष अगाडी देखि यो रोगको आम औषधी सेवनको कार्यक्रम सरकारले संचालन गरेको र अझै पनि दाङ लगायतका ११ जिल्लामा यसको जोखिम रहेको र दाङको गढवा गाउँपालिका त्यस सुचिमा परेको तथ्यांक शाहीले जानकारी गराए । २० बर्षसम्म यस रोगको परविवी मानव शरिरमा रहने भएकाले क्यूलेश नामक पोथी लामखुट्टेको टोकाईबाट बच्न र औषधि सेवनमा कत्रिपनि लापर्वाही नगर्न समेत उनले सबैमा आग्रह गरेका छन् ।
गढवा गाउँपालिका अन्तर्गतका सबै बिद्यालयहरुमा चैत्र २० गतेका दिन औषधी खुवाउने कार्यक्रम रहेकोले बिद्यालयका शिक्षक, अभिभावक र बिद्यालय ब्यवस्थापन समितिलाई सहयोगका लागि स्वास्थ्य शाखाले अनुरोध गरेको छ । यसै गरी २१ गतेदेखि २६ गते सम्म गाउँपालिकाका सबै वडाका टोल बस्तीहरुमा स्वास्थ्यकर्मीहरुद्धारा आम औषधी सेवनको कार्यक्रम संचालन गरिने भएको स्वास्थ्य संयोजक कैलाशचन्द्र चौधरीले जानकारी दिए ।

सुगर, प्रेसर, दम, युरिक एसिड लगायतका रोगीहरुलाई पनि यो औषधी खान मिल्ने स्वास्थ्य शाखाले जनाएको छ । तर २ बर्षका बालवालीका, गर्भवती, ४५ दिन सम्मका सुत्केरी, मृगौलाको डाइलासिस गरिरहेका बिरामी र सिकिस्त बिरामीले भने यो औषधी सेवन गर्न नमिल्ने स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यक्रमको सहजीकरण स्वास्थ्य संयोजक कैलाशचन्द्र चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे