लमहीमा राजमार्ग आसपासका होटलको खाद्य स्वच्छता स्तर मापन सुरु



लमहीमा राजमार्ग आसपासका होटलको खाद्य स्वच्छता स्तर मापन सुरु

लमही १९ फागुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङले होटलको खाद्य स्वच्छता स्तर मापन गर्न थालेको छ। पूर्व पश्चिम राजमार्ग र यस आसपासमा सञ्चालनमा रहेका होटलहरुको खाद्य स्वच्छता स्तर मापन सुरु गर्न थालेकाे हाे ।

 

होटलहरुको भान्सा, भान्सामा प्रयोग हुने खाद्यान्न, सरसफाई लगायत क्षेत्रको अनुगमनपश्चात खाद्य स्वच्छताको स्तर मापन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दाङका प्रमुख विवेक बन्जाराले जानकारी दिए। खाद्य स्वच्छताको आधारमा होटल रेस्टुरेन्टको स्तरीकरण गर्न विभिन्न ५० ओटा सुचांक तयार पारिएको छ । यही सुचांकको आधारमा होटलहरुको चार तहमा वर्गिकरण गरिन थालेको हो। होटल रेस्टुरेन्टको स्तर अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार तहमा वर्गिकरण गरिएको छ।

मंगलबार लमहीका ६ ओटा होटल रेस्टुरेन्टको स्तरीकरण गरिएको छ। जस मध्य तीन वटा होटलले सन्तोषजनक (वान स्टर) को मान्यता प्राप्त गरेका छन्। तीन वटा अन्य होटलले सामान्य स्तर(पहेलो) कार्ड प्राप्त गरेका छन्। अनुगमन गरिएको मध्य मन्त्र गेस्टहाउसले ७७, न्यू भुसाल गेस्टहाउसले ७९ र विएनवि रेस्टुरेन्ट एण्ड लजले ७१ नम्बर ल्याउदै सन्तोषजनक(वान स्टार)को मान्यता पाएका छन्। यस्तै होटल सम्राटले ५८, होटल स्काईटचले ५१, हिमालयन होटलले ५८ नम्बर प्राप्त गरेर सामान्यस्तरको वर्गिकरणमा परेका छन्।

तीन दिन सम्म लमही क्षेत्रमा रहेका होटलहरुको स्तरिकरणको लागि अनुगमन गर्ने कार्यक्रम रहेको छ। यो भन्दा अघी पनि यहाँका होटलहरुको खाद्य स्वच्छता स्तर मापन गरिएको थियो। विगतका वर्षको तुलनामा यसवर्ष होटल रेस्टुरेन्टको भान्छामा सुधारमा आएको पाइएको छ।

लमही क्षेत्रमा मात्रै साना ठूला गरी ३ सय ८६ होटल रेस्टुरेन्ट सञ्चालनमा छन्। अहिले गरिएको स्तरीकरणले साना ठूला होटलहरुको खाद्य स्वच्छतामा सुधार ल्याउन मद्धत गर्ने अनुगमनमा खटिएका लमही नगरपालिकाका प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष विमबहादुर केसीले बताए। खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण सम्बन्धी निर्देशिका २०७४ अनुसार होटलहरुले आफ्नो खाद्य स्वच्छतामा सुधार ल्याउनुपर्ने उनले बताए। वर्गिकरणमा परेका होटल रेष्टुरेन्टले सेवालाई थप गुणस्तरीय बनाउदै लैजाने प्रतिबद्धता जनाएका छन् ।

गुणस्तरीय सेवा ग्राहकलाई उपलब्ध गराउने, खानेकुरालाई राम्ररी पकाएर सुरक्षित तापक्रममा राख्ने, काँचो र पकाएको खानेकुरालाई छुट्टाछुट्टै राख्ने, स्वच्छ पानी र स्वच्छ कच्चा पदार्थको प्रयोग गर्न, प्याकिङ्ग गरिएको खाद्यवस्तुको उपभोग्य मिति भित्र प्रयोग गर्न र बिक्रि गर्न, खाना पकाउने, भण्डारण गर्ने र खुवाउने ठाउँ सफा राख्ने, ट्वाईलेट, वाथरुम र भाडाँ माज्ने ठाउँ सफा राख्ने प्रतिबद्धता जनाएका छन्। यस्तै खाना पकाउने, खुवाउने व्यक्तिको व्यक्तिगत सरसफाई कायम राख्ने, तोकिएको परिधिभित्र मात्र खाद्य रंग तथा अन्य प्रयोग गर्न स्वीकृत योगशील प्रयोग गर्ने, ढाँटेर झुक्याएर कम गुणस्तरको खाद्यवस्तु बिक्रि वितरण नगर्ने र अभिलेख व्यवस्थित तरिकाले राख्ने प्रतिवद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे