दाङमा स्वास्थ्य बीमा कार्यक्रम लागु हुँदै



दाङमा स्वास्थ्य बीमा कार्यक्रम लागु हुँदै
दाङ २० माघ । राप्ती गाउँपालिका क्षेत्रका नागरिकको स्वास्थ्यको बीमा गर्ने कार्यक्रमको सुरुवात गर्न पुर्व सरोकारवालाहरुलाई अभिमुखीकरण गरिएको छ ।
मानिसहरुलाई आइपर्ने वित्तिय र स्वास्थ्य सम्बन्धि जोखिमहरुलाई न्यूनीकरण गर्नका लागि नेपाल सरकारले ल्याएको एउटा पारिवारिक स्वास्थ्यको महत्वपूर्ण कार्यक्रम स्वास्थ्य बीमाका बारेमा कार्यक्रममा जानकारी गरिएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको अभिमुखीकरणमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलाई स्वास्थ्य बीमाका बारेमा स्वास्थ्य वीमा बोर्डका प्रतिनिधि नरेश चौधरीले जानकारी गराएका थिए ।
स्वास्थ्य बीमामार्फत गुणस्तरीय सेवा प्रदान गरेर स्वास्थ्य सेवाको पहुँचलाई अझै सहज बनाउन नेपालको संविधान २०७२ ले परिकल्पना गरेको एउटा यूनिभर्सल कभरेज प्रिन्सिपलमा आधारित स्वास्थ्य सेवाको सिद्धान्त अनुसार काम हुने गरि प्रक्रिया सुरुगर्ने बारेमा समेत छलफल गरिएको छ ।
राप्ती गाउँपालकामा आगामी माघ ३० गतेदेखी स्वास्थ्य बीमाका लागि फारम भर्नेगरि कार्य सुरु गरिएको स्वास्थ्य बीमा बोर्ड टेकुका जिल्ला प्रवन्धक नरेश चौधरीले जानकारी गराएका छन् ।
स्वास्थ्य बीमा लागु भएपछि सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सक्नेछन् तर, कस्मेटिक सर्जरी, व्यक्तित झैझगडाका कारण चोटपटक लागेमा, मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोट पटक लागेमा, गर्भपतन गरेमा भने यो सेवा नपाउने कार्यक्रममा जानकारी गरिएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधरणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता पनि गर्ने स्वास्थ्य बीमाको उद्देश्य अनुसार सकेसम्म पायक पर्ने ठाउँबाट स्वास्थ्य सेवा प्रवाह गर्ने लगायतका लक्ष्य राखिएको छ । राप्ती गाउँपालिकाका हरेक वडामा एक जना दर्ता सहयोगी छनोट गरि तथ्यांक संकलन गरेर बीमामा सर्वसाधरणलाई आवद्ध गराउने काम सुरु हुने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे