राप्ती सहित दाङका ६ स्थानीय तहमा आज देखि पोलियो विरुद्धको आइपिभि खोप अभियान संचालन



राप्ती सहित दाङका ६ स्थानीय तहमा आज देखि पोलियो विरुद्धको आइपिभि खोप अभियान संचालन

देउखुरी २२ जेठ । दाङ-देउखुरीकाे राप्ती गाउँपालिका सहित जिल्लाको ६ स्थानीय तहमा आज देखि पोलियो विरुद्धको आइपिभि खोप अभियान संचालन भएको छ।

वि.सं २०७३ बैशाख देखि २०७५ साल असोजसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन थालिएको हाे। जिल्लामा दाेस्राे चरणको खाेप अभियान अन्तर्गत जेठ २२ गतेदेखि २६ गते सम्म घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बङ्गलाचुली, राप्ती, गढवा र राजपुर गाउँपालिकामा खोप अभियान शुरु गरिएको स्वास्थ्य कार्यालय दाङका खोप संयोजक झग्गुप्रसाद आचार्यले बताए । आचार्यका अनुसार तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिकामा पहिलो चरणकाे खाेप अभियान अन्तर्गत जेठ १३ गते देखि १७ गतेसम्म खाेप अभियान सम्पन्न भई सकेको छ।

खाेप अभियान अन्तर्गत राप्ती गाउँपालिकामा २ हजार ३ सय ९६ जना बालबालिकालाई खाेप लगाउन थालिएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिए। खाेप अभियानलाई सफल बनाउन शाखाले पालिका अन्तर्गत रहेका विभिन्न सरकारी स्वास्थ्य संस्था तथा विद्यालयहरुमा खाेप केन्द्र निर्धारण गरिए खाेप कार्यक्रम अघि बढाइएको शाखा प्रमुख राउतले जानकारी दिए। यसैबीच राप्ती गाउँपालिकाका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समितिका संयाेजक प्रकाश विष्टले पाेलियाे विरुद्धको खाेप बालबालिकाहरुकाे लागि निकै महत्त्वपूर्ण खाेप रहेको बताउदै लक्षित उमेर समूहका बालबालिकाहरु नछुट्ने गरि अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी तथा आम पालिकावासीहरुलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे