स्वस्थकर जीवनका लागि आयुर्वेद चिकित्सा पद्धति उत्तम छ : मन्त्री पुन



स्वस्थकर जीवनका लागि आयुर्वेद चिकित्सा पद्धति उत्तम छ : मन्त्री पुन

भालुवाङ १५ जेठ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले स्वस्थकर जीवनका लागि आयुर्वेद चिकित्सा पद्धति उत्तम रहेको बताएका छन् ।

प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङको आयोजनामा मंगलवार राप्ती गाउँपालिका ५ सिसहनियाँमा आयोजित एक दिने निशुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविरलाई उद्घाटन गर्दै मन्त्री पुनले आयुर्वेदले सिकाएका खानपानमा ध्यान दिन आग्रह गरेका छन् । प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका निमित्त निर्देशक डा.सन्तोष कुमार ठाकुरको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पुनले आयुर्वेद चिकित्सा पद्धती उपचारात्मक मात्रै नभएर रोग प्रतिरोधात्मक पद्धती पनि भएकाले आयुर्वेद चिकित्सा पद्धतीमा जोडिन सवैलाई आग्रह गरे । बढ्दो आधुनिकता संगै हराउदै गएको परम्परागत कृषि प्रणालीका कारण हरेक मानिसले जंङफुड खाने अभ्यास बढिरहेको भन्दै यसलाई सुधार्न पनि उनले आग्रह गरे ।त्यस्तै शिविर उद्घाटन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले खानपानमा भएको लापर्वाहीका कारण पछिल्लो समयमा दिर्घरोगको उपचार चुनौतीका रुपमा देखिएको बताए । उनले दैनिक खाद्यान्न, फलफुल तथा तरकारीमा प्रयोग हुने रसायनिक मल र विषादीका कारण क्यान्सर, उच्च रक्तचाप, मधुमेह तथा थाइराइड जस्ता रोगका संक्रमण बढिरहेको भन्दै उनले यसबाट जोगिन जैविक कृषि प्रणालीको सुरुवात गर्न पनि सवैलाई आग्रह गरे । राप्ती गाउँपालिकाले यसै बर्ष प्रांगारिक मल उत्पादनका लागि किसानलाई सहयोग गरेर कारखाना समेत खोलिसकेको पनि बताए ।प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका वरिष्ठ कविराज निरिक्षक बसन्त बहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको शिविर उद्घाटन कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख रुद्रमणी खरेलले गरेका थिए । निशुल्क स्वास्थ्य शिविरमा आयुर्वेद फिजिसियन डा.योगेश वैद्ध, जनरल सर्जन मदन भण्डारी, जनरल ओपिडिका डा. मदन विसी, नाक कान घाटी विशेषज्ञ डा प्रतिक्षा मज्गैया, महिला तथा प्रसुति रोग विशेषज्ञ डा. पुष्पा भुसाल र डा. सन्जु भुसाल, बालरोग विशेषज्ञ डा. हरिशंकर चौधरी, छाला रोग विशेषज्ञ डा. गोपेन्द्र कमल लगायत स्वास्थ्यकर्मी कर्मचारीहरुको सहभागिता रहेको थियो । सो अवसरमा भिडिओ एक्सरे, प्रयोगशाला सेवा संगै निशुल्क औषधी समेत वितरण गरिएको थियो । शिविरमा दिर्घरोगीहरुको बढि उपस्थिति रहेको थियो । मन्त्री पुन सहित शिविरमा ६ सय बढी बिरामीले सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे