LISTEN LIVE RADIO

राप्तीमा फागुन १३ गते देखि १५ हजार बढी बालबालिकाहरूलाई दादुरा रूवेला खोप लगाइदै



राप्तीमा फागुन १३ गते देखि १५ हजार बढी बालबालिकाहरूलाई दादुरा रूवेला खोप लगाइदै

भालुवाङ २९ माघ । दाङको राप्ती गाउँपालिकामा यहि फागुन १३ गते देखि २५ गते दादुरा रुवेला खोप सञ्चालन हुने भएको छ ।

राप्ती गाउँपालिका स्वास्थ्य शाखाले सोमबार मसुरीयामा आयोजना गरेको पालिका स्तरीय खोप समन्वय समिति र सञ्चारकर्मीहरू सँगको अभिमुखिकरण गोष्ठीमा सो विषयमा जानकारी गराइएको छ ।

जन्मेको ९ महिना देखि १५ बर्ष मुनिका बालबालिकालाई राप्ती गाउँपालिकाको ५२ वटा खोप केन्द्रबाट दादुरा रुवेला खोप लगाउने कार्यक्रम रहेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । करिव १५ हजार ३ सय ८८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।

अहिले देशका विभिन्न जिल्लाहरुमा जस्तै दाङ जिल्लामा पनि दादुरा महामारी देखिएको छ। दादुरा रोग निकै छिटो सर्ने सरूवा रोग भएकोले यो रोग अत्यन्त संक्रामक रहेको र विषेश गरि ५ वर्ष मुनिका बालबालिकालाई यो र‍ोग छिटो सर्ने जोखिम भएको र यसले निमोनिया, झाडापखाला, कुपोषण जस्ता कारणले विरामीको ज्यान समेत जान सक्ने भएकोले सो जोखिम न्युनिकरण गर्न खोप कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गर्नु परेको शाखा प्रमुख राउतले जानकारी दिएका छन् ।

साथै तराईका २१ जिल्लामा ९ महिना दखि १५ वर्ष उमेर समुहका र काठमाडौं उपत्यकाका ३ जिल्लामा ९ महिना देखि १५ वर्ष मुनिका बालबालिकाहरुमा दादुरा रुबेला खोप अभियान संचालन हुन लागेको छ । यस अभियान अन्तरगत लुम्बिनी प्रदेशमा मात्र ११ लाख ६० हजार ६ सय ६६ जना बालिबालिकाहरुमा खोप लगाउने लक्ष्य रहेको छ ।

नजिकैको स्वास्थ्य संस्था तथा विद्यालयमा सम्पर्क गरी खोप लगाउने मिती र खोप केन्द्रबारे जानकारी लिई आफ्ना बालबालिकालाई खोप लगाउन हुन समेत राउतले सवैमा अनुरोध गरेका छन् । दादुरा कोभिड – १९ भन्दा पनि तिब्र गतिले फैलन्छ । १ जना दादुरा संक्रमितले १८ जना सम्मलाई सार्न सक्ने भएकोले सम्पुर्ण अभिभावकहरूलाई दादुरा रूवेला खोप लगाउन राउतले आग्रह गरेका छन् ।

दादुराको भाईरस मानिसबाट मानिसमा मात्र सर्ने भएकोले भाइरस संक्रमण भएको व्यक्तिको नाक तथा घाँटिमा रही बृद्धि हुने र श्वास नलि एवं अरु भित्री अंगहरूमा संक्रमण गर्ने राउतले बताए । दादुरा रोग संक्रमण भएको (रोग लागेको) व्यक्तिले खोक्दा, हाँछिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्ने राउतले बताए ।

ज्वरो आउनु र शरीरमा राताविविरा देखा पर्नु दादुरा रोगका प्रमुख चिन्ह / लक्षण हुन् । यसको साथै रुघाखोकीको लक्षण चिन्हहरू (नाकबाट पानी वग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि जस्ता) पनि देखिन सक्छन्। रोगीको सम्र्पकमा आएको १०-१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ । दादुरा संक्रमित व्यक्तिलाई डावर र विमिरा देखा पर्नु भन्दा ४ दिन अगाडी देखि र डाबर देखा परेको ४ दिन पछि सम्म अर्को व्यक्तिमा सर्ने राउतले बताए ।

दादुरा रोग लागेपछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै लगी लक्षण अनुसार र जटिलताको उपचार गर्नु, बिरामीलाई “भिटामिन ए ” अनिवार्य रुपमा खुवाउनु, दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुरा विरुद्धको खोप लिनु रहेको राउतले बताए ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका जनप्रतिनिधि, खोप समन्वय समितिका पदाधिकारी तथा सदस्य र सञ्चारकर्मीहरूको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए । लुम्बिनी प्रदेश पूर्ण खोप प्रदेश घोषणा भएपनि २०७९ मंसिर ३ देखि २०८० पुस १५ गते सम्म दादुरा रुबेलाको महामारीको रुपमा सबै भन्दा धेरै बिरामी बाँकेमा फेला परेको थियो । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार बाँकेमा ३ सय २१ जना दादुरा रुबेलाबाट बालबालिका संकमित भएका थिए । त्यसैगरी बर्दियामा ७२, दाङमा ३९, अर्घाखाँचीमा ११ जनामा बिरामी परेका थिए ।

नियमित दादुरा रुबेला खोपको कभरेज सबै स्थानिय तहमा एकरुपता रहेको छैन । जसका कारण पनि दादुरा रुबेला खोप अभियान २०७६/०७७ सम्पन्न पछि गरिएको सर्भेक्षणबाट दादुरा रुबेला खोपको कभरेज ८४ प्रतिशत मात्र रहेको पाइएको छ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारले प्रतिबद्धता जनाएपनि कोभिड–१९ को महामारी र अन्य कारणहरुले गर्दा नेपालमा पछिल्लो समय बालबालिकाहरुमा दादुरा रुबेलाको महामारी देखिएको छ । कोभिड–१९ ले गर्दा नेपालमा दादुरा रुबेलाको खोप लगाउन छुटेका बालबालिकाहरुको संख्यामा बृद्धि भई २०७९/०८० मा दादुराको महामारी देखिएको स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे