LISTEN LIVE RADIO

राप्ती गाउँपालिकाका शिक्षकहरूलाई आयुर्वेद तथा योग शिक्षा दिदै



राप्ती गाउँपालिकाका शिक्षकहरूलाई आयुर्वेद तथा योग शिक्षा दिदै

भालुवाङ १३ पुस । दाङको राप्ती गाउँपालिकाका शिक्षकहरूलाई आयुर्वेद तथा योग सम्बन्धि सिप सिकाउन थालिएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर, दाङको आयोजनामा विद्यालय शिक्षकहरूका लागि २ दिने आयुर्वेद तथा योग सम्बन्धि अधिमुखीकरण कार्यक्रम शुक्रबार देखि राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सुरू भएको छ ।

राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुर, दाङका कार्यालय प्रमुख डा. मदन कुमार विसीको अध्यक्षता एवं राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चाैधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरू भएको हो । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि चाैधरीले स्वास्थ्यका लागि आयुर्वेद र योग अत्यन्त महत्त्वपूर्ण रहेकोले यश विषयमा शिक्षकहरूको माध्यमबाट विद्यार्थीहरूलाई ज्ञान दिन सकिने बताएकी छिन् । त्यस्तै उनले समाजका हरेक नागरिकलाई स्वास्थ्य तथा निरोगी बनाउन पनि विद्यालय तहमा आयुर्वेद र योग जरूरी रहेको बताएकी छिन् ।

आयुर्वेद विभागका वरिष्ठ कविराज निरिक्षक खिमराज रिजालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विक लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

२ दिन सम्म चल्ने कार्यक्रममा शिक्षकहरूलाई आयुर्वेदको परिचय, आहारविहार, योग, महत्त्वपूर्ण जडिबुटीको परिचय तथा प्रयोग, दिनचर्या तथा रातिचर्याका विषयमा सिकाईने बताइएको छ । कार्यक्रमको सञ्चालन वरिष्ठ कविराज निरिक्षक डा. कैलाश न्याैपानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे