राप्ती गाउँपालिकाको ५ वटा खोप केन्द्रबाट मंगलवार ९०८ जना विद्यार्थीहरुले मोडर्ना खोप लगाए



राप्ती गाउँपालिकाको ५ वटा खोप केन्द्रबाट मंगलवार ९०८ जना विद्यार्थीहरुले मोडर्ना खोप लगाए

भालुवाङ १८ माघ । देउखुरीको राप्ती गाउँपालिकामा सोमवार देखि विद्यार्थीहरुलाई कोरोना भाइरस विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको छ । १२ बर्ष देखि १७ बर्ष उमेर समूहका विद्यार्थी तथा किशोर किशोरीहरुलाई विद्यालयमै पुगेर कोरोना विरुद्धको मोडर्ना खोप दिन सुरु गरिएको हो ।

नेपाल सरकारले देशैभरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरेपछि विद्यार्थीहरु समेत उत्साहित भएका छन् । आफ्नै विद्यालयमा खोप लगाउन पाएपछि विद्यार्थीहरु खुसी समेत भएका छन् ।

जिल्ला खोप समन्वय समिति दाङको निर्णय बमोजिम राप्ती गाउँपालिका क्षेत्रका २१ वटा विद्यालयमा खोप केन्द्र राखेर खोप लगाउन सुरु गरिएको छ । यसै क्रममा मंगलवार ५ वटा खोप केन्द्रबाट छात्र ४ सय २१ जना र छात्रा ४८७ जना गरी कुल ९०८ जना विद्यार्थीहरुले मोडर्ना खोपको पहिलो मात्रा लगाएका छन् ।

जस अनुसार दिपज्योती मावि सिसहनियाँ खोप केन्द्रमा १७० जना, मार्टिन बोडिङ स्कुल पत्थरगढवा खोप केन्द्रमा १२० जना, भद्राक्षी प्रावि देवीकोट खोप केन्द्रमा ४३ जना, पब्लिक एजुकेशन ऐकेडमी बराखुट्टीमा ४१५ जना र लिटिल एन्जल स्कुल भालुवाङमा १६० जना विद्यार्थीहरुले मोडर्ना खोपको पहिलो मात्रा लगाएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे