अक्सिजन सिलिन्डर लिन वाइड बडी जहाज सोमवार बेइजिङ जाने



अक्सिजन सिलिन्डर लिन वाइड बडी जहाज सोमवार बेइजिङ जाने

काठमाण्डाै २५ बैशाख । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते (आउँदाे साेमवार) चीनको राजधानी बेइजिङ जाने भएको छ ।

चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ । वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । यस प्रयोजनका  निम्ति निगमको वाइड बडी जहाज सोमवार बिहान ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

निगमका महाप्रबन्धक  डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिए । ‘चीनबाट स्वास्थ्य सामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ, हामी (निगम)ले जहाज पठाउँनका लागि आफ्नो तयारी थालिसकेका छौँ’, उनले भने । । चीनले २० हजार अक्सिजन सिलिन्डर अनुदानमा दिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे