LISTEN LIVE RADIO

कोरोनाकाे ‘हटस्पट’ बन्दै लुम्बिनी प्रदेश



कोरोनाकाे ‘हटस्पट’ बन्दै लुम्बिनी प्रदेश

दाङ ८ बैशाख । लुम्बिनी प्रदेश कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ। भारतबाट भित्रिनेको संख्या बढेसंगै यहाँका तीन जिल्लामा संक्रमित संख्या उच्च दरमा बढेको हो। दाङ सहित बाँके र रूपन्देहीमा संक्रमित एक सातामै पाँच गुणाले बढेका छन्।

यो अवधिमा कोरोना विशेष अस्पतालका बेड भरिएका छन्। पाँच अस्पतालमा १ सय १० जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। यी मध्ये भेन्टिलेटरमा रहेकाको संख्या ११ छ। यो प्रदेशमा मंगलबार ५ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ। सोमबार ४ सय ६६ जना संक्रमित थपिएका थिए। तीमध्ये ३ सय ४२ जना बाँकेका मात्रै हुन्। दाङमा ५६ र रूपन्देहीमा ३७ संक्रमित थपिए। बाँकेमा कोरोना परीक्षण गरिएकामध्ये ५५ प्रतिशतभन्दा धेरैमा संक्रमण देखिएको छ।

प्रदेशमा चैत २६ गते ५० जना संक्रमित थपिएका थिए। त्यसको १० दिनपछि वैशाख ६ गते ४ सय ६६ जना संक्रमित थपिए। गत वर्ष वैशाखदेखि यहाँ संक्रमण उच्च दरमा बढेको थियो। चैतसम्म आउँदा संक्रमण कम बिन्दुमा झरी महिनाभर जम्मा ७ सय ३२ जना संक्रमित भएका थिए। कोरोना संक्रमणबाट सोमबार पाँच जनाको ज्यान गएको छ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले प्रदेशमा कोरोना संक्रमणदर ५३.२६ प्रतिशत रहेको बताउनुभयो। परीक्षण गर्न आउनेमध्ये आधाभन्दा धेरैमा कोरोना देखिएको डा. पौडेलले बताए । भेरी अस्पतालमा लक्षणसहितका ४८ जना उपचार गराइरहेका छन्। आईसीयूमा ३२ र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ। नेपालगन्ज मेडिकल कलेजले आईसीयूमा २२ जनाको उपचार गरिरहेको छ।

यसैबीच बाँकेमा कोरोना संक्रमण तिब्र बन्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले मंगलबार बाँकेमा ९ वैशाखदेखि सात दिन लकडाउन गर्न सिफारिस गरेको छ। नेपालगन्जलगायत उच्च जोखिम रहेका क्षेत्रमा तीव्र रूपमा बढिरहेको कोभिड–१९ संक्रमणको साङ्लो तोड्न, आवतजावत रोक्न अत्यावश्यक भएकाले कम्तीमा सात दिन निधेषाज्ञा वा लकडाउनको आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्ने निर्णय केन्द्रको बैठकले गरेको हो।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बुधबार सुरक्षा निकायलगायत सरोकारवालासँग संयुक्त बैठक बसेर लकडाउनको मोडलबारे छलफल गरिने बताए। बैठकले भारतमा कोरोनाको संक्रमण दर उच्च रहेकाले सामान्य कामका लागि सीमावर्ती जिल्ला र बजार आउजाउ गर्न रोक लगाउने निर्णय गरेको छ। जिल्लामा रहेका आइसोलेसन भरिएकाले आफै पैंसा तिर्न सक्ने संक्रमितका लागि होटलमा आइसोलेसनको व्यवस्था गर्ने केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे