शिवसवरी धाम पहरुवाको सांस्कृतिक कार्यक्रमलाई राष्ट्रिय र स्थानीय कलाकारले मञ्च तताउने



शिवसवरी धाम पहरुवाको सांस्कृतिक कार्यक्रमलाई राष्ट्रिय र स्थानीय कलाकारले मञ्च तताउने

सिसहनियाँ २१ फागुन । देउखुरीको राप्ती गाउँपालिका–५ मा अवस्थित शिवसवरी धाम पहरूवामा हुन लागेको महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने भएको छ । फागुन २६, २७ र २८ गते सम्म सञ्चालन हुने महाशिवरात्री तथा धार्मिक मेलामा दुई दर्जन बढी राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने शिवसवरी धाम धार्मिक प्रतिष्ठानका उपाध्यक्ष तथा सांस्कृतिक संयोजक संयोजक राजेन्द्र चौधरीले जानकारी दिएका छन् ।

मेलामा चर्चित थारू गायकहरू श्रीनिवास चौधरी, रोशन रत्गैयाँ, चर्चित लोकदोहरी गायक बिक्रम राना, चर्चित बहुभाषिक गायक राजेन्द्र चौधरी, गायिका बसन्ती चौधरी, गायकहरू दोसहरण चौधरी, सालिकराम चौधरी, लक्ष्मीमान चौधरी र शंकर चौधरीको विशेष प्रस्तुति रहने सांस्कृतिक संयोजक चौधरीले जानकारी दिए ।

त्यस्तै मेलामा चर्चित मोडेलहरू विवश चौधरी, अभिसा लामा, निशु चौधरी, मधु चौधरी, नरेश भण्डारी, सन्तोष चौधरी, पुजा चौधरी, झरना चौधरी, सर्मिला चौधरी र पुष्पा चौधरीको समेत धमाकेदार प्रस्तुति रहने सांस्कृतिक संयोजक चौधरीले देउखुरी टुडेलाई जानकारी दिए ।
त्यसैगरी मेलामा चर्चित डान्सरहरू रेजिना चौधरी, एन्जल सोमई, नरेन्द्र चौधरी र हास्यब्यङ्ग्य कलाकार गौतम चौधरीको समेत विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत दाङ देउखुरीको राप्ती गाउँपालिका–५ स्थित शिवसवरी धाम स्थल पहरूवामा गत बर्ष जस्तै यस बर्ष पनि महाशिवरात्री तथा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
धामको स्थापनाकाल बिगत सात बर्ष देखि उक्त धाममा प्रत्येक बर्ष महाशिवरात्रीमा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

मेलामा विभिन्न व्यापारिक तथा पुजा तथा फलफूलका स्टलहरू समेत रहने समितीकी महासचिव धना चौधरीले जानकारी दिइन् । साथै मेला अवधिभर तीन दिन धाममा पुजापाठका लागि आउने र सांस्कृतिक कार्यक्रममा सहभागीहरूलाई भण्डाराको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । यता शिवरात्री पर्व नजिकिए संगै मेला तथा सांस्कृतिक कार्यक्रमको तयारी समेत व्यापक बनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे