LISTEN LIVE RADIO

राप्तीमा थारू साँस्कृतिक माघ महोत्सव सम्पन्न : थारू कला संस्कृति संरक्षणमा जोड



राप्तीमा थारू साँस्कृतिक माघ महोत्सव सम्पन्न : थारू कला संस्कृति संरक्षणमा जोड

सिसहनियाँ ७ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं.८ पिपरीमा शनिबार थारू साँस्कृतिक माघ महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

थारू समुदायको महान पर्व तथा थारू सम्वत् २६४६ को अवसरमा थारु कल्याणकारिणी सभा राप्ती गाउँपालिका इकाई समितिको आयोजना तथा राप्ती गाउँपालिका दाङको आर्थिक सहयोग एवम् नयाँ युगबोध र देउखुरी टुडे डटकमको सहकार्यमा माघ महोत्सव कार्यक्रम सम्पन्न भएको हो। इकाई समितिका कार्यवाहक अध्यक्ष नेत्रराज चाैधरीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रजित थारूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले थारू समुदायमा लोप हुँदै गइरहेका कला, संस्कृति संरक्षण सम्वर्द्वन गर्न आवश्यक रहेको बताएका थिए । त्यसका लागि पुराना पिढीले नयाँ पिढीलाई सिकाउन जरूरी रहेको बताएका थिए । त्यस्तै थारू समुदायको भाषा, पोशाक, खानपान भुल्न नहुने बताएका थिए । भने तीनै तहको सरकारले बडघर प्रथा लागू गर्नुपर्ने बताएका थिए ।

सो अवसरमा थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षदहरू गंगा थारू, लक्ष्मी चाैधरी, हल्लु प्रसाद चाैधरी, केन्द्रीय संगठन विभाग प्रमुख रूक्मिणी चाैधरी, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, थारू कल्याणकारणीय सभाका क्षेत्रिय सल्लाहकार बामदेव चाैधरी, क्षेत्रिय अध्यक्ष प्रकाश कुमार चाैधरी, जिल्ला उपाध्यक्ष रामपति चाैधरी, राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चाैधरी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा साँस्कृतिक प्रतियोगिता समेत भएको थियो । ९ वटा समुहले भाग लिएको प्रतियोगितामा थारू कल्याणकारिणी नव प्रतिभा बगरापुरको थारू झुमरा नाच प्रथम, जागृति थारू साँस्कृतिक समूह बड्का सिसहनियाँको झुमरा नाच दोस्रो र मिलन महिला समूह लठ्ठहवाको झुमरा नाच तेस्रो भएका थिए । विजेताहरू पुरस्कार स्वरूप नगद र प्रमाणपत्र प्रदान गरिएको थियोे ।

त्यस्तै कार्यक्रममा थारू समुदायबाट विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै सिसहनियाँ स्वास्थ्य चाैकीमा कार्यरत डा. श्रवण कुमार चाैधरी, राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा कार्यरत डा. दिक्षान्त चाैधरी र
सिसहनियाँ निवासी एन. आइसी एसिया बैंकका म्यानेजर विद्यामान चाैधरीलाई थारू पोशाक लगाएर सम्मान गरिएको थियो । थारू युवा अगुवा यम बहादुर चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र चाैधरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे