LISTEN LIVE RADIO

लालमटियामा चैत्र ११ गते देखि चौथो व्यापारीक पर्यटन तथा कृषि महोत्सव सञ्चालन हुने



लालमटियामा चैत्र ११ गते देखि चौथो व्यापारीक पर्यटन तथा कृषि महोत्सव सञ्चालन हुने

भालुवाङ ३० फागुन । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा चौथो व्यापारीक पर्यटन तथा कृषि महोत्सव २०७८ सञ्चालन हुने भएको छ ।राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा यहि चैत्र ११ गते देखी २२ गते सम्म राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडीखेल मैदानमा महोत्सव सञ्चालन हुन लागेको हो । हिजो राप्ती उद्योग वाणिज्य संघ भालुवाङले आफ्नै कार्यालय भालुवाङमा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव सञ्चालनका बारेमा जानकारी गराएको हो ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन हुन लागेको उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले जानकारी दिएका छन् । यसै बिच महोत्सवलाई भव्य तथा सभ्य बनाउन यस अघि नै विभिन्न उपसमितिहरु समेत गठन गरि सकिएको छ । महोत्सवमा ८ करोड बराबरको कारोवार गर्ने र ४ लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, विभिन्न जातजातिको झाँकी प्रर्दशन, बाल उद्यान रमाइलो मेला, बालबाललिका लागि रमाईलो खेल लगायत अन्य थुप्रै आकर्षणका केन्द्रहरु रहने छन् । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिइएको छ । त्यस्तै प्राकृतिक विविधताले भरिपूर्ण र थुप्रै संम्भावनाहरु बोकेको राप्तीको औद्योगिक, पर्यटकीय, कृषिजन्य, उर्जा एवम् विविध साँस्कृतिक तथा धार्मिक धरोहरहरुको समेत प्रबद्र्धन र प्रचार–प्रसार गर्नमा यस महोत्सवको औचित्य रहेको ठहर गरिएको छ ।

महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ६० र विद्यार्थीका लागि ५० रुपैयाँ, अपाङग, जनआन्दोलनका घाइते, दृष्टिविहिन र जेष्ठ नागरिक तथा पत्रकारहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको र ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुको सन्दर्भमा शुल्क नलाग्ने बताइएको छ । त्यस्तै महोत्सवमा कृषि पर्यटन स्टललाई पनि निशुल्क गरिएकोे छ ।

संघका अध्यक्ष सुरज खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संघका वाणिज्य उपाध्यक्ष प्रेमबहादुर केसी, महासचिव नारायण शर्मा, सचिव भरतमणी न्यौपाने, कोषाध्यक्ष श्रीधर खत्री, महोत्सवका सचिवालय संयोजक सन्तोषकुमार योगी, रेडियो राप्ती तथा राप्ती टेलिभिजनका स्टेसन म्यानेजर ओमप्रकाश गुप्ता र पत्रकार जमिर शाहा, भिसुन शाही, बासुदेव न्यौपाने, लोकमणी भुसाल, विमल राना लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे