LISTEN LIVE RADIO

कथा: स्टारडम



कथा: स्टारडम

प्रकाश लामिछाने

प्रलाद स्कुलले जीवनमा पढाईमा उस्तो तगडा विद्यार्थी त थिएन तैपनि उ कक्षाका डेढसय विद्यार्थीहरुसंग तुलना गर्दा एकसय भन्दा माथि नै गनिन्थ्यो होला । तर उसको पहिचान भने पढन्ता विद्यार्थी भन्दा पनि नेतृत्व र ‘एक्स्ट्रा करिकुलर एक्टिभिटी’ नै थियो । उतिबेलाको स्कुले नेतृत्व भनेको या त जुनियर रेडक्रस सर्कल हुन्थ्यो, या त स्काउट नै हुन्थ्यो । एक्स्ट्रा करिकुलर अन्तर्गत भने साप्ताहिक जसो हुने कविता, वक्तृत्वकला, हाँजिरीजवाफ जस्ता प्रतियोगिता या स्कुलको बार्षिकोत्सवमा हुने अरु साँस्कृतिक कार्यक्रमहरु पर्दथे ।

यसएलसी पास गरेको ५ बर्षपछि मात्रै बल्ल उसले आफुसंग बर्षौदेखि गुम्सिएर रहेको हुटहुटी पुरा गर्ने पेशा फेला पारेको छ । अर्थात हरेक काममा केही नयाँ र चुनौती खोज्ने उ अहिले पत्रकारिता पेशामा आवद्द भएको छ । विद्यालयमा हुँदा अरु भन्दा फरक र श्रृजनशिल काममा रुची राख्ने बानीका पनि अहिले उसलाइ पत्रकारितातर्फ मोह बढेको रे !

परिवारको चाहनालाइ कुल्चेरै भएपनि उ अहिले मिडियामा काम गर्न पाएकोमा दंग छ । भर्खरै देशमा आएको ‘संचार क्रान्ति’को उपज स्वरुप उसको जिल्लामा खुलेको एफएम रेडियोमा कार्यक्रम संचालन तथा समाचारवाचनमा आफ्नो स्वर अब्बल छ भनेर अरुले भनिदिँदा उ पैसाको आवश्यकतालाई पनि केहीबेर बिर्सेर यसमै रमाएको छ । भलै घरपुग्दा बाउको मुखबाट ‘सत्रचोटी’ लोकसेवा आयोगको जाँच कहिले छ यसपाली भनेको सुन्नुपरोस् !

रेडियो पत्रकारिता कर्मकै शिलशिलामा प्रलादसंग कविताको भेट भएको थियो केही समय अघि मात्रै । हुन त उनी पत्रकार थिईनन् यद्यपि झण्डै-झण्डै पत्रकार हुन पुगेकि थिईन् । स्थानिय एनजिओमा कार्यरत कविता जेहेन्दार तथा मेहेनेती युवती हुन् । आफुलाई संघर्षका कणकण थाहा भएको बताउने उनको व्यवहार पनि निकै परिपक्व लाग्छ ।

प्रलाद रेडियो भनेपछि मरिहत्ते गर्छ । बिहान साढे छ बजेको बुलेटिन पढेर डेरामा फर्किई खाना पकाएर खाएर उ साढे नौ बजेतिर रेडियो पुगिसकेको हुन्छ, अनि रेगुलर न्युज रिपोर्टिङ त छँदैछ, त्यसबाहेक हप्तामा ४ दिनजसो उ राती पनि रेडियो मै बिताउँछ । यसरी हप्तामा सातैदिन न्युजमा र दशवटा जस्तो अरु रेडियो कार्यक्रम संचालन गर्दा उसको पेशामा दक्षता त बढ्दै गएको छ तर यही ‘रेडियो क्रेज’का कारण अरु कुराहरुलाई भने उसले समय दिन सकेकै छैन ।

‘आठ कक्षाको फाईलन परिक्षाको रिजल्ट आयो तर तिम्रो भाई यस पाली पनि फेल भयो ।’
स्कुलका मुखिया तिवारीजीले न्युज बुलेटिन पढ्न जानुअघि स्कुलबाट रेडियोमा फोन गरेर प्रलादलाई सुनाए ।
प्रलादको समाचार पढ्ने पुरै जोश स्वात्तै घट्यो ।

तैपनि उसले आफुलाई सम्हालेझैँ गरेर समाचार पढ्यो । टेक्निसिएन किरणले भन्यो–’सर ! तपाईले आज न्युज त पट्टुले रामराम भनेझैँ गरेर पो पढ्नु भो त ! न कतै फीलिङ्स छ न तपाईको रियल स्पीड नै । खाली ख्वारारारारा पढेर सक्नुभो ! के भो?’

प्रलाद चुपचाप नबोली त्यहाँबाट निस्कीयो । अरु सहकर्मीहरु कानेखुसी गर्दैथिए ।

उ सरासर घर पुग्यो ।

भाई निस्फिक्री चोकमा गफ लडाईरहेको थियो । उ भाईलाई आउने इसारात्मक निर्देशन दिँदै कोठामा पुग्यो । कोठामा बलवान छाप खैनी गन्नाएको चाल पायो उसले । त्यतिन्जेल भाई ढोकामा आईसकेको थियो । प्रलादको रिसको पारो चरमचुलीमा पुगिसकेको थियो ।

दाँयाबाँया केही नहेरी उसले भाईलाई भकुर्न थाल्यो । भाई टाउको समातेर थ्याच्च भुँईमा बसेर रुनथाल्यो ।

दुईदुई पटक आठकक्षामा फेल भएपछि प्रलादले गाउँको स्कुल छुटाएर भाईलाई शहरमा आफुसंगै पढाउन राखेको थियो । तर यसपाली पनि भाई पास त भएन ।

प्रलादमा सवार भएको पत्रकारिता र रेडियोको ‘भुत’का कारण उसले भाईलाई प्रयाप्त समय दिन नसक्दा आफुसंग राख्नु न नराख्नुमा कुनै फरक भएन । बरु उल्टो शहरका बरालिएका केटाहरुको संगतमा लागेर भाईले चुरोट खैनी खान सिकिसकेको थियो, कोर्षका कुराहरु सिक्नुको साटो । प्रलादले आफ्नो समिक्षा गर्यो, यसमा दोष उसको पनि त उत्तिकै थियो नि !

कविताले यो कुरा खै कताबाट हो सुनिछन् । उनी प्रलादकहाँ आईपुगिन् । प्रलादले उनलाई केही कुरा लुकाएन ।
खै किन हो कुन्नी ! उ कवितालाई नजिकको नातेदार जस्तै मान्दथ्यो । कविता पनि उसंग खुलेर कुरा गर्थिन । कविताले प्रलादलाई समयको ब्यवस्थापन गर्न सक्नुपर्ने सल्लाह दिईन्।

उसो त प्रलाद कविताका लागि भने समय मजैले मिलाउन सक्थ्यो ।
कतिसम्म भने – एकचोटी टेक्निसियन बिदामा बसेको बेला उ एफएम स्टेशनको टेक्निसियन देखि समाचार प्रमुख समेत आफै भएर सम्पुर्ण स्टेशन आफ्नै थाप्लोमा लिएर बसेको थियो । त्यतिखेर एकघण्टाको लागि गीत क्युमा राखेर स्टेशनको गेटमा ताला लगाई उ कवितालाई भेट्न खुल्लामञ्चसम्म पुगेको थियो ।
धन्न ! त्यतिखेर लाईन गैदिएन र उ बच्यो । पछि स्टेशन म्यानेजरले कहाँबाट हो कुन्नी यो कुरा थाहा पाएछन र ‘यस्तो हेलचेक्राँई नगर्नु है साथी हो’ भनेका थिए ।

रातीको समयमा प्रलाद कविताको फर्माईस अनुरुपका गीतहरु बजाउँथ्यो । उनीहरु अरुका गीतमार्फत आफुहरुले सम्वाद गरेको महसुस गर्थे क्यारे । किनकी कहिलेकाँही आफ्नै मुखले नबोलेपनि अरुका शब्द र संकेतहरु सापटी लिएर पनि मान्छेले प्रयाप्त सम्वाद गरिरहेको हुन्छ, अँझ भनौ प्रभावकारी सम्वाद गरिरहेको हुन्छ तर कहिलेकाँही आफ्नै मुखले बोल्दापनि मान्छे सम्वाद गर्न सकिरहेको हुँदैन् । जब विषयलाई मनले महसुस गरेर सम्वाद गरिन्छ त्यहाँ शब्दैले मात्र बोल्नुपर्छ भन्ने छैन पनि ।

दिनमा भेट हुँदा कविताले जस्तो भावका कुराहरु गर्थिन् रातमा रेडियोमा बास हुँदा आफ्ना कार्यक्रममा ति कुराहरुको जवाफ कहिले आफ्ना शब्दबाट त कहिले अरुका गीतहरुबाट फर्काउँथ्यो प्रलाद ।

लामो समयसम्मको प्रलाद र कविताको मित्रता अनि संचार यसैगरी भैरह्यो । सायद यही संचारशैलीका कारण उनीहरु एकआपसमा झनै नजिकिए क्यारे । अथवा भनौँ उनीहरुको प्रेम बस्यो, जब उनीहरुले एकले अर्कोलाई प्रेम गर्दारहेछौँ भन्ने महसुस गरे अनि त्यसलाई बैधानिकता दिने निर्णय पनि तत्कालै गरिहाले । अनि उनीहरुले आफ्नो ‘छोटोमीठो’ प्रेमलाई मागी विवाहमा रुपान्तरण गरे ।

विवाहको केहीदिनपछि एकदिन ससुरालीमा खाना खान बोलाइएको दिन नै प्रलादको लाईभ कार्यक्रम रहेछ । ससुरालीमा खाना पाक्न ढिलो भैरहेको थियो ।

एक त रातीको कार्यक्रम त्यसमाथि ससुरालीबाट रेडियोसम्म पुग्न समय लाग्ने, अर्कोतर्फ माओवादी शशस्त्र संघर्षको समय, त्यसमाथि राजाको प्रत्यक्ष शासन र संकटकाल !

घडीमा साँझको साढे छ बज्दैथियो । सात बजेबाट कर्फ्यु लाग्नेभएकोले उसलाई छटपटी भैरहेको थियो । बल्लतल्ल कवितालाई सोर्स लगाउन लगाएर उसले खाना टिफिनको डब्बामा हाल्न लगायो अनि साईकलको जोहोगरी त्यसैमा खाना राखेर उ बेतोडका साथ एफएम स्टेसनतिर दौडियो ।

पहिलोपल्ट आफ्नो माईतीमा खाना खान आफुसंगै आएको प्रलादको यो गति देखेर कविताले खिन्न मन गराईन् । उनले एकपल्ट विगत सम्झिईन्– उनीसंग भेट मात्रै गर्नका लागि एकघण्टासम्म स्टेशन एक्लै छोड्नसक्ने ‘जोखिम’ मोल्ने प्रलादको आजको ब्यस्तता कस्तो होरु

प्रलादले एफएम स्टेशनमा पुगेर हेर्दा पो देख्यो- ‘ज्या…….. ससुरालीले उसका निम्ति तयार गरेको खानेकुरा त ग्राभेल सडकमा बेतोडले साईकल चलाएर कुद्दा टिफिन डब्बा उघ्रिएर जम्मै पोखिएछ !’
त्यो रात उसले भोकै सुत्नुपर्यो स्टेशनमै । यो कुरा उसले महिनौँपछि कवितालाई सुनाउँदा उनी बेस्सरी हाँसेकी पनि थिईन ।

प्रलाद र कविता फरकफरक फिल्डमा थिए । प्रलादको काम पत्रकारिता थियो, जसको न कहिल्यै ‘ड्युटीआवर’ हुन्छ न ‘कमाई’ राम्रो हुन्छ । तर कविता भने एउटा राम्रै गैह्रसरकारी संस्थामा आवद्द थिईन् । कविताको सपोर्टले आफ्नो अस्तब्यस्त र दरिद्री जीवनशैलीलाई ब्यवस्थित गर्न त प्रलादलाई मद्दत पुगेको थियो नै संगसंगै बुवाआमाको ‘लोकसेवा कहिले दिनेरु सरकारी जागिर कैले खानेरु’ भन्ने प्रश्नको सामना गर्नुपर्ने क्रम पनि घट्दै गइरहेको थियो ।

कमाइ असाध्यै कम भएपनि आफ्नो अन्तरआत्माले रोजेको पेशा भएकोले प्रलाद यसमा यसरी झुमेको थियो कि मानौँ नसाको लत लागेको मानिस नसाको डोज लिएपछि झुमेझैँ । तर प्रलादको यो अनावश्यकको ब्यस्तताले भने कवितालाई पिरोल्न थालेको थियो ।

बिस्तारै बिस्तारै प्रलादको ब्यस्तता झनै बढ्नथाल्यो । कमाई सुन्य भएपनि उ म बिजी छु भन्न छाड्दैन्थ्यो । कहिलेकाँही त एकाघरका यी दुइ प्राणीको चारपाँच दिनसम्म भेटै हुँदैन्थ्यो । कारणः विहान कविताले खाना पकाएर खाइवरी गैसकेपछि मात्रै प्रलाद घर आइपुग्थ्यो भने साँझ उसले खाना पकाएर खाई रेडियोतिर निस्केपछि मात्र कविता अफिसबाट घर आइपुगेकी हुन्थिन् । साँझको न्युज बुलेटिन र रातीको कार्यक्रम अनि संकटकाल र कर्फ्युका कारण हप्तामा ३ रात प्रलाद एफएम स्टेशनमै सुत्दथ्यो।

तथापी एकले अर्कोको ब्यस्तता र कामको सम्मान गर्ने हुँदा यिनीहरुको अनुहारमा यो दुरीको दर्द कहिल्यै झल्किन्थेन र यसमा असन्तुष्ट पनि थिएनन् उनीहरु।
यसबिचमा देशमा जन-आन्दोलन भयो, ब्यवस्था फेरियो, ब्यवस्था फेरिनका लागि भएको आन्दोलनमा प्रलाद घाईते समेत भयो । प्रलादले आफ्नो उपचारका लागि काठमाण्डौ आउँदा एफएम स्टेशनबाट ‘बिना खबर गएको’ भनेर निश्कासित समेत हुनुपर्‍यो । कविताले मजाकैमजाकमा प्रलादलाई ‘दिनरात नभनी आफ्नो समयको पर्वाह नगरी रेडियोलाई दिएको समयको उपहार हो यो’ भनेर ब्यङ्ग्य गरिन । प्रलादलाई कोखामा सियोले घोचेझैँ भयो । उसले त्यहि दिन आफु काठमाण्डौ गएर पत्रकारिता नै पढेर देखाउने र त्यो भन्दा राम्रो मिडियामा काम र दाम दुबै हाँसिल गरेर देखाउने अटोठ लियो । किनकी त्यतिखेर प्रलादले मासिक तिन हजार रुपैँयामा करिब करिब दैनिक झण्डै १६ घण्टा जसो काम गरेको थियो ।

उसले कवितालाई यो कुरा सुनायो । कविता एकछिन त ट्वाँ………भईन् । उनले आफ्नो मनले ‘बोल्न कर गरेको’ कुरालाई जबर्जस्ती मनमै दवाईन । अनि प्रलादलाई इच्छा लागेको कुरा पुरा गर्न भनिन ।

प्रलाद फेरी एकपटक बेरोजगार र पुर्णतस् विद्यार्थी भयो । कविताले पठाएको पैसाले उसले पत्रकारिता बिषयमा एमएमा भर्ना भयो, बबरमहलमा एउटा कोठा डेरालियो मासिक १५ सय तिर्नुपर्ने तर साथीसंगको पार्टनरसिपमा लिएकोले उसको भागमा सातसय पचास पर्यो । बाँकी दाल-चामल, नुनदेखि ओढ्ने ओच्याउने मात्रै हैन, ग्याँससिलिण्डर समेत कविताले उतैबाट पठाईदिएकी थिईन् ।

बिस्तारै प्रलादले चाहेजस्तै हुनथाल्यो । उ जीवनमा केही नयाँ गर्न चाहन्थ्यो आफ्नो साथीहरुको सर्कलले भन्दा, परिवारका सदस्यहरुले भन्दा । त्यसैले त बुवाआमा, परिवार तथा नातागोताका सबैले लोकसेवाको तयारी गरेर सर्खारी जागिर खान कर गर्दा पनि उ कुनै हालतमा तयार भएन ।

प्रलादले काठमाण्डौ आएको केही समयमै चर्चित टिभीका लागि एउटा हाँस्य टेलिसिरियलको स्किृप्ट लेख्ने काम पायो प्रति ईपिसोड हजार रुपैँयामा । पैसा भन्दा पनि स्किृप्ट लेख्न पाएकैमा उ दंग थियो । सिरियल लेख्नका लागि प्लट खोज्न उ हप्ताका सातैदिन कतै न कतै दौडिरहन्थ्यो । कहिले दिनभर रत्नपार्कमा भेटिने मानिसमा उ आफ्नो सिरियलको ‘क्यारेक्टर’ खोज्थ्यो त कहिले रिङरोडमा चल्ने गाडीको लास्ट सिटमा बसेर अर्को क्यारेक्टरको खोजीमा रुमल्लिइरहन्थ्यो तर ती सबैभन्दा बिचित्रको क्यारेक्टर त उ आफै थियो । उसले आफुमा भएको त्यो बिचित्रको क्यारेक्टर भने कहिल्यै भेटेन । त्यसैले त सिरियलको क्यारेक्टर पनि आफु बनाएर कहिल्यै लेखेन । मान्छेको जातै त्यस्तै हो, राम्रो होस या नराम्रो हत्तपत्त उ आफ्नो गुण या दोषको समिक्षा गर्दैन अथवा आफ्नो क्षमतामा आएको कमि होस या अब्बलता दुबैलाइ नजरअन्दाज गर्नुमै महानता देख्छ । हजार रुपिँया प्रतिइपिसोडको सिरियलको प्लटको खोजीमा भौँतारिँदा उसले कैयौँ हजार रुपिँया खर्च पनि गर्यो ।

त्यसको केही समयपछि नै उसले एउटा प्रतिष्ठित संचार सम्बद्द संस्थामा रेडियो कार्यक्रम उत्पादकको जागिर पनि पायो । कलेजमा पनि उ राम्रै बिद्यार्थीका रुपमा परिचित भयो । साथीहरुलाई कैलेकाँही उ भन्थ्यो पनि–’एक कक्षादेखि ब्याचलरसम्म बाउआमाका लागि पढियो तर यो पढाई मेरा लागि हो। आफ्नो बास्तविक रहरले पढ्दैछु म ।’

आफ्ना निजी चाहना र आकांक्षाहरु पुरा गराउने क्रममा उ अत्यन्तै एक्लो भएर दौडिरहेको थियो । कहिलेकाँही महिनौसम्म बुवाआमालाई फोन गर्न भुल्दथ्यो । सायद कवितालाई पनि भुल्थ्यो कि १ तर कविताले भुल्नेवाली थिईनन् । उनले दैनिक कम्तिमा दुईदेखि बढिमा दशौँपटक समेत फोन गर्थिन् । ससुरालीमा त सायद उसले अहिलेसम्म आफ्नै मनले भनेर फोन गरेको रेकर्ड नै छैन होला !

वास्तवमा प्रलाद मान्छे त ‘महाबेवारिसे’ नै थियो । उसलाई सम्बन्ध जोड्न त आउँथ्यो तर त्यसको निरन्तरताका लागि प्रेम, सद्भाव, स्नेह, भावना जस्ता कुराहरुको मलजल र गोडमेल चाहिन्छ भन्ने कुराको हेक्का नै थिएन । सायद यसमा उसको कुनै निहित स्वार्थ त थिएन होला तथापी उसले ब्यवहारले देखाउँथ्यो नै त्यस्तै कि उसका सम्बन्धवालाहरु उ विगतभन्दा फरक हुँदै गएको गुनासो गर्थे फोनमा कुरा हुँदा ।

सम्बन्ध मजबुत हुनका लागि सम्पर्क निरन्तर भई नै रहनुपर्छ भनिन्छ । सायद यहि कुराका कारणले हुनुपर्छ, कविताले काठमाण्डौ जाने निधो गरिन् । घरका र माईती दुबैतिरका सबै मौन भए । सबै मौनता स्विकृतिको लक्षण हुन्न । कहिलेकाँही मानिसले मौन भएर पनि असहमति प्रकट गरेको हुन्छ, अँझ कहिलेकाँही त मौनता भित्र ठुलै असहमतिको सन्नाटा र सम्भावित बिद्रोहको आधिबेहेरी जेलिएको पनि हुनसक्छ । कविताको काठमाण्डौँ जाने कुरामा उनका नातेदारहरुको बिद्रोहको मौनता नभएपनि नगए हुने भन्ने भावको मौनता थियो । किनकी सबैले पढाई सकिएकाले बरु प्रलादलाई नै यतै बोलाउनुपर्ने बिचार राखेका थिए सायद ।

कविता कुम्ला कुटिरा बाँधेर, अनि छोरी च्यापेर काठमाण्डौँ हान्निईन । यसबिचमा संगै नबसेपनि कहिलेकाँहीको सम्पर्कका कारण उनीहरुकी एउटी छोरी जन्मिएकी थिई । कविता काठमाण्डौँ आउँदा एउटा भोक पनि लिएर आएकी थिईन् । लामो समयसम्मको उनीहरुको भौतिक दुरीले गर्दा उनीमा प्रलादको मायाकी भोक थियो । तर अर्कोतिर प्रलादमा नाम र चर्चाको महत्वकाँक्षाको भोक बढ्दै गएको थियो । नियत दुबैको राम्रो हुँदाहुँदैपनि एकअर्काको भोकलाई बुझ्ने र महसुस गर्ने कोशिष नगर्दा उनीहरुको त्यो भोक तृप्तिमा नपुगेरै अमनमा परिणत हुन लागेको जस्तो भैरहेको थियो । एकले अर्कोलाई गरेको मायामा पनि झर्कोपना देखिने, शँकालु पारा देखेको महसुस गर्ने, अभाव मात्रै देख्ने तृप्ति नभेट्ने आदत जस्तो भएको थियो ।

उनीहरु बिचको मायामा देखिएका ससाना खटपट अब दरार झैँ बन्न थालेका थिए । कविताले गरेको सानो ‘डिमाण्ड’ प्रलाद पुरा गर्न सक्दैन्थ्यो किनकी एक त उसको तलबले काठमाण्डौँको महँगो संसारलाइ थेग्न सकेको थिएन भने अर्कोतर्फ म खर्च गर्छु भनेर कविताले अग्रसरता देखाउँदा पनि उ समय नभएको, आज भ्याउँदिन या अर्को दिन जाउँला नि भन्दै टार्दथ्यो । उसको यो बानी देखेर कविता खिन्न हुन्थिन । यो क्रम निरन्तर जसो हुन थालेपछि कविता र प्रलादबिच हुने खटपटमा झन गुणात्मक अभिबृद्दि हुनथाल्यो ।

एकदिन सानो कुरामा ख्यालख्यालमै प्रलाद र कविताको ठुलो झगडा भयो । सवाल सामान्य नै थियो सायद । सामाजिक संजालमा महिला मित्रहरुसंग गरिएको कुराकानीको भाषा हुनुपर्छ क्यारे । सवालजवाफमा सिमित नभइ त्यो कुरा बिबाद हुँदै झगडाको चरम रुपमै पुग्यो । सायद त्यो दिन प्रलादले पिएको पनि थियो क्यारे !

‘ठुला’ मान्छेहरुको संगतले गर्दा अचेल प्रलादले पिउन थालेको छ । पिउने क्रमपनि करिबकरिब दिनहुँ भैरहेकोले कविताको पिउने कुरासंग समेत घोर असहमति छ । यो कुरा पनि अचेल उनीहरुमाझ ‘भिलेन’ बनेर आउने गरेको छ । कविताको असहमतिको एकमात्र जवाफ प्रलादको हुन्छ-‘साथीहरुको मन राख्न एक पेग मात्रै पिएको त हो नि १ यत्रो सारो कराउनुपर्छरु फेरी मैले गोजी रित्याएर पिएको भए पो ! अरुले खुवाउँदा पनि कराउने तिमीरु’ तर कविताको प्रश्न सायद रक्सी कस्ले खुवाउँछ र कति पैसा रक्सीमा जान्छ भन्नेतिर लक्षित थिएन क्यारे ।

अँ, प्रलाद र कविताको सानो झगडा यतिसम्म चर्कियो कि दुबैजना बाझ्नुसम्म बाझेर एकअर्काको मुखै नहेरी ओच्छयानमा पल्टिए । हल्का ‘ठिकठिक’ अवस्थामा भएकोले प्रलाद कवितासंग बाझेर थाकेको निहुँमा निदाईहाल्यो ।

‘पेयपदार्थ’को मात्रा घटेर हो कि खै किन हो उ आधारातमा झल्याँस्स बिउँझियो । बत्ती बलेकै थियो । उसका आँखा सामुन्ने कविता थिइन् । उसले कवितालाइ शिरदेखि पाउसम्म नियाल्यो- कविता झोला प्याक गरेर कतै निस्कने तयारीमा थिईन् ।

प्रलादले हत्त न पत्त छेउको मोवाईल तानेर समय हेर्यो । भर्खरै दुई बजेको थियो । उसको सातो उड्यो । कवितालाई सोध्यो(‘कहाँ जान लाग्या तिमी यतिबेला !’
अहँ ! कविता केही बोलिनन् । उनका गह भरिएका थिए । अनुहार बिचित्रसंग गहीरो सोचमा डुबेको जस्तो लाग्थ्यो वा कतै हराएकफ थियो । अँझ गहिरिएर हेर्दा उनको भाव ठम्याउनै गाह्रो हुनेगरी एकोहोरिएको थियो । प्रलादलाई के गरौँ र कसो गरौँ भयो ।

बल्लतल्ल कवितालाई जहाँ जाने हो भोलि जानु भनेर हात पाउ जोडेर बिन्ती बिसायो । कविताले झोला बिसाउँदै गर्दा प्रलादले शिरानी छेउ कापीको पानोमा केही लेखिएको भेट्टायो । उसले सुटुक्क त्यो पानो च्यातेर गोजीमा लुकायो । कविता केही नबोली बेडमा पल्टिईन । छोरी निर्दोष र प्यारो अनुहार सहित निदाईरहेकी थिई । प्रलाद र कविताको मन मस्तिस्कमा भने भयानक आँधिबेहेरी दौडिईरहेको थियो ।

प्रलादलाई निद्रा परेको थिएन । उसले पिसाब आएको बहाना पारेर सौचालयमा पुगी अघि च्यातेको कापीको पाना खोल्यो । जसमा लेखिएको थियोः

‘बाबा‘‘‘‘‘

मैले यो जुनीमा तिम्रो प्रेम पाउन र साथ पाउन निकै कोशिस गरेँ तर असमर्थ भएँ । तिम्रो बढ्दैगएको ‘स्टारडम’का कारण तिमी हामीहरुबाटै टाढा भएको महसुस हुँदै गएको छ । हामीहरु एउटै ओच्छ्यानमा त हुन्छौँ तर भौतिक शरिर त्यहाँ भएपनि हामीहरुको मन त्यहाँ नभएजस्तो मैले पाइरहेकी छु । यो दुरीलाइ कम गर्न मैले सक्दो कोशिस गरेकै हुँ । तिमीलाइ परेको बखत् सहयोग पनि गरेकै हुँ । जब तिमीलाइ मेरो साथको खाँचो थियो तब तिमी मेरो अत्यन्तै नजिक थियौ तर अब सायद सेलीब्रेटी भयौ क्यारे १ तिम्रो सन्चोबिसन्चोको ख्याल गर्नेहरु पनि अरु नै देखिन थाले । यसमा गल्ती तिम्रो हैन म मेरै देख्छु । किनकी धेरै अपेक्षा त मैले नै गरेकी रहेछु तिमीबाट ।

त्यसैले अब तमाम अपेक्षाहरुलाइ यहीँ खारेज गर्दै म तिमीबाट टाढिन चाहन्छु । न तिमीलाइ कहिल्यै कराउने छु न किचकिच गर्नेछु । बस् एउटा आग्रह, छोरीले दुख नपाओस् ।

उही तिम्री

(स्रोत : दाङ खबर डटकम बाट सभार)

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे