सातै प्रदेशमा आइसोलेसन कक्ष स्थापना गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं १६ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन कक्ष स्थापना गर्न निर्देशन दिएको छ । भारतीय सीमा नाकामा हेल्थ डेस्कमा परीक्षण गरेर कोरोना पोजेटिभ देखाएकाहरु पनि सार्वजनिक बसमा आवतजावत गरिरहेको भन्दै मन्त्रालयले सातै प्रदेशलाई आइसोलेसन स्थापना गर्न निर्देशन दिएको हो ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल कोभिड-१९ को संक्रमण छिमेकी मुलुकहरुमा बढिरहेको सन्दर्भमा सबै नाकास्थित हेल्थ डेस्कहरुमा परीक्षणको व्यवस्था गरिएको र कोभिड-१९ को रिपोर्ट पोजेटिभ आएकाहरु सार्वजनिक बसहरुद्वारा नै यात्रा गरिरहेको भन्ने खबर आएकोमा सबै प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालयहरुको समन्वयमा कोभिड-१९ को चिह्न र लक्षण भएकाहरुको अस्पतालहरुमा र लक्षण नभएकाहरुको आइसोलेसन सेन्टरको व्यवस्था गरी १० दिन अनिवार्य आइसोलेसन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ । यस्तै मन्त्रालयले आइलोसनको खर्च प्रति विरामी दुई हजार समेत उपलब्ध गराउने जनाएको छ ।