दाङकाे बेलझुण्डी रंगशालाको अवस्था वेहाल, नष्ट भयो दुबो, उड्न थाल्यो धुलो



दाङकाे बेलझुण्डी रंगशालाको अवस्था वेहाल, नष्ट भयो दुबो, उड्न थाल्यो धुलो

अञ्जना चौधरी, तुलसीपुर २३ माघ ।

दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ वेलझुण्डी स्थित अन्तराष्ट्रिय रंगशालामा रोपिएको बर्मुडा दुबो सुकिसकेको छ । करोडौं बजेट खर्च गरेर निर्माण गरेको वेलझुण्डी रंगशाला संरक्षणमा लापरवाही देखिएको छ ।

तुलसीपुर उपमहानगरपालिकालाई स्पोर्ट सिटी घोषणापछि तुलसीपुरका मेयर घनश्याम पाण्डेले छाति फुलाएर वेलझुण्डी रंगशालाको प्रशंसा गर्थे । तर, त्यो रंगशालाको स्वरुप छोटो समयमै कुरुप बनेको छ । एकबर्ष नहुँदै दुवो सुकेर धुलो उड्न थालेको छ । भारतको कोलकत्ताबाट ल्याईएको उन्नत जातको दुबोमा सिंचाई नगर्दा यस्तो समस्या देखिएको हो ।

हप्तामा दुई पटकसम्म पानी चार्नुपर्ने भएपनि असोजदेखि पानी नै नहालेकाले सुक्दै गएको जिल्ला खेलकुद विकास समितिका प्रमुख शान्ति सोमई थापाले बताइन् ।

एको असोजदेखि दुवोमा पानी नहालिएको उनको भनाई छ । दुबो सिंचाईको लागि बोरिङ् खनिएको भए पनि पानी चार्नको लागि विद्युत नभएकोले समस्या भएको उनको भनाई छ । विद्युत वितरण केन्द्र बिजौरीमा विद्युत महसुल नबुझाएकाले लाइन काटिएपछि सिंचाईमा समस्या भएको हो ।

२४ करोड २४ लाख ४५ हजार २ सय ९३ रुपैयाँ लागतमा दिवा एमए प्रतिष्ठा जेभी कन्स्ट्रकशन प्रालिले रंगशाला निर्माणको जिम्मा पाएको थियो । रंगशालामा दुबो रोप्नको भारतबाट ल्याउने र रोप्ने मात्रै करिव ४५ लाख रकम खर्च भएको कन्स्ट्रक्शनका साईड ईन्चार्ज प्रकाश पोख्रेलले बताए ।

रंगशाला निर्माण गरि हराभरा भएसंगै रंगशाला हेर्नेको घुईचो लाग्ने गथ्र्यो । तर अहिले भने रंगशालामा लगाईएको दुबो सुकेसंगै उजाड देखिएको छ । दुबोमा सिंचाईको कमीले दुबो मर्ने अवस्थामा पुगेको उनको भनाई छ । संगैजाडो मौसममा सिटले पनि दुबोलाई असर गर्ने गरेको ईन्चार्ज पोख्रेलले बताए ।

तर दुबो सिंचाईको लागि आफ्नो तर्फबाट सक्दो प्रयास गरे पनि खेलकुद विकास समितिले विद्युत महशुल नबुझाउदा लाईनको समस्या भएको छ । तर, दाङ जिल्ला खेलकुद विकास समितिलाई हस्तान्रतण गर्ने बेला दुवोलाई हरियो बनाएरै दिने बताए ।

‘अन्य स्थानमा पनि हेर्नुभयो भने पनि हिउँद महिनामा टुसारोले खाने भएकाले दुबो माथी डढेको देखिएता पनिभित्र उसको जरालाई भने कुनै असर गर्दैन’ पोख्रेलले भने ‘बसन्त ऋतु लागेपछि फेरी हरियो भई हाल्छ ।’ तर सिंचाईको लागि आफ्नो तर्फबाट पहल गरि रहेको र दाङ जिल्ला खेलकुद विकास समितिले बढि चासो दिनुपर्ने पोख्रेलले बताए ।

जिल्ला खेलकुद विकास समितिका प्रमुख शान्ती सोमई थापाले विद्युत जोड्नको लागि पहल भई रहेको बताइन् । बिजौरी विद्युत प्रालिले पाँच महिनाको मासिक शुल्क नबुझाएको भन्दै विद्युत लाइन काटेपछि अहिले रंगशाला विद्युत विहीन छ ।

बिजौरी विद्युत प्रालिलाई मिटर बक्स जोडेको ६० हजार ७० रुपैयाँ र मासिक महशुल गरि ९० हजार ७० रुपैयाँ बुझाउनु पर्ने सोमईले बताइन् । विद्युत महशुल बुझाउन आवश्यक रकम राष्ट्रिय खेलकुद परिषदले पठाई सकेको छ ।

तर खेलकुद विकास समितिको पुरानो कार्यसमिति गईसकेको र नयाँ कार्य समिति नआएको हुँदा एथ्लेटिकका सहायक प्रशिक्षक भिमलाल बिक र कार्यालय प्रमुख शान्ति सोमई थापाको नाममा खाता संचालन छ ।

बिकले कर्मचारीहरुलाई तलब खुवाउने बाहेक अन्यमा हस्ताक्षर गर्ने अनुमती नपाएको भन्दै हस्ताक्षर नगरेकाले विद्युतमा भुक्तानी गर्न नसकिएको सोमईले बताइन् ।

निर्माण कम्पनीले आफुहरुलाई रंगशाला हस्तान्तरण नगरेको अवस्थामा उसले पनि दुबो संरक्षणमा ख्याल राख्नुपर्ने बताइन् । निर्माण कम्पनीले रंगशाला हरीयो नबनाउँदासम्म आफुहरुले रंगशालाको जिम्मा नलिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे