आपतविपतमा मानवीय व्यवहार गर्न आवश्यक छ : मन्त्री अहिर



आपतविपतमा मानवीय व्यवहार गर्न आवश्यक छ : मन्त्री अहिर

देउखुरी ३ भदौ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरले आपतविपतका बेला एक–अर्काप्रति मानवीय व्यवहार गर्दै सहयोग र उद्धारमा जुट्न सबै नागरिकलाई आग्रह गरेका छन् । लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयकाे आयोजना तथा सुपरपरियोजना युनिसेफको समन्वयमा आज बुधबार राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको विश्व मानवीय दिवसकाे अवसरमा आयाेजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अहिरले यस्ताे कुरा बताएका हुन् ।

उनले कुनै व्यक्ति आपतमा परेको अवस्थामा तत्काल उद्धार गर्नु मानवीय धर्म भएकाले सबै नागरिक सहयोगी बन्नुपर्ने बताए । मन्त्री अहिरले मानवीय संस्कारको विकास घरपरिवारबाटै सुरु गर्नुपर्ने भन्दै बालबालिकालाई सानैदेखि सहयोग, सहकार्य र मानवीय व्यवहारबारे सिकाउन आवश्यक रहेको बताए ।कार्यक्रममा सहभागी वक्ताहरूले पछिल्लो समय मानिसमा स्वार्थी प्रवृत्ति बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरूले दुर्घटना वा विपद्का घटना हुँदा घाइतेको तत्काल उद्धार तथा उपचार गर्नुभन्दा पहिले फोटो–भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने प्रवृत्ति बढेको बताएका थिए । यस्तो प्रवृत्तिले समयमै उद्धार र उपचार नपाउँदा मानिसले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ थियो ।

वक्ताहरूले विपद् वा दुर्घटनामा परेका व्यक्तिको उद्धारमा पहिलोपटक सहयोग गर्ने नागरिकलाई प्रोत्साहन तथा पुरस्कृत गर्ने व्यवस्था कानुनमै गर्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा रोल्पाको थवाङमा पहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरूको खोज तथा उद्धारलाई तीव्र बनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका कार्यक्रम संयोजक केशव भुसाल, पत्रकार सन्तोषकुमार गुप्ता लगायतले आ–आफ्नो धारणा राखेका थिए । मन्त्रालयका वरिष्ठ उपसचिव सुरेशचन्द्र आचार्य, सुपर परियाेजना युनिसेफका प्रदेश संयाेजक डम्मर बाेहरा र सुपर परियोजना अन्तर्गत सिडिएमका विजयसिंह ठकुरीले सहजीकरण गरेका थिए । कार्यक्रम मन्त्री भण्डारीलाल अहिरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन मन्त्रालयका कानुन अधिकृत लक्ष्मण भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे