राप्ती नदी कटानले बगरापुर–सगरापुर सामुदायिक वनमा ठूलो क्षति : ५ सय बोट विरूवा नष्ट



राप्ती नदी कटानले बगरापुर–सगरापुर सामुदायिक वनमा ठूलो क्षति : ५ सय बोट विरूवा नष्ट

सिसहनियाँ ३ भदौ । दाङको राप्ती गाउँपालिका–६ मा रहेको बगरापुर–सगरापुर सामुदायिक वनको जमिन राप्ती नदीले कटान गर्दा वन क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

नदीले सामुदायिक वनको करिब १ बिगाहा जमिन कटान गरिसकेको छ भने कटानका क्रममा करिब ५ सय साना–ठूला बोटबिरुवा तथा रूख नष्ट भएका छन् । राप्ती नदीको निरन्तर कटानका कारण वन क्षेत्रको जमिन बग्दै गएपछि वनको क्षेत्रफल समेत घट्दै गएको सामुदायिक वनका अध्यक्ष प्रेमलाल चौधरीले जानकारी दिएका छन् । उहाँका अनुसार नदीले कटान गरेको क्षेत्रमा रहेका सिसाै, सिरिस लगायत विभिन्न प्रजातिका रूख तथा बोटबिरुवा नदीमा बगेका छन् ।

नदी कटान नरोकिए आगामी दिनमा सामुदायिक वनको थप जमिन जोखिममा पर्न सक्ने अध्यक्ष चौधरीले बताएका छन् । “नदीले वर्षेनी वन क्षेत्रको जमिन कटान गर्दै आएको छ । कटान रोक्न तत्काल तटबन्ध तथा अन्य आवश्यक संरचना निर्माण गर्नुपर्ने अवस्था छ,” उनले भने । सामुदायिक वनले नदी कटानबाट भएको क्षति रोकथाम तथा जोखिम न्यूनीकरणका लागि स्थानीय सरकार, डिभिजन वन कार्यालय तथा सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेको छ । नदी कटान नियन्त्रणका लागि समयमै आवश्यक पहल नभए वन क्षेत्रसँगै आसपासका खेतीयोग्य जमिन समेत प्रभावित हुन सक्ने स्थानीयको भनाइ छ ।

स्थानीयले पनि राप्ती नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाएर तटबन्ध निर्माण तथा संरक्षणका कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । वन क्षेत्रको संरक्षणसँगै वातावरणीय सन्तुलन कायम राख्न नदी कटान रोकथामलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे