देउखुरीकाे चैतन्य पाठशालामा पाँच घण्टे शैक्षिक कार्यशाला सम्पन्न
भालुबाङ १३ असार । परिवर्तनको नेतृत्व गर्दै शिक्षाशास्त्र, कृत्रिम बुद्धिमत्ता (AI) र विद्यालय संस्कृतिलाई पुनर्परिभाषित गर्दै आफ्नो विद्यालयका लागि सम्भावनाहरूको पुनर्कल्पना” विषयक एकदिने शैक्षिक कार्यशाला शनिबार देउखुरीकाे चैतन्य पाठशाला माैरीघाटमा सम्पन्न भएको छ। स्मार्ट आईटी सोलुसन, बुटवल र चैतन्य पाठशाला, राप्ती उपत्यकाको संयुक्त आयोजनामा उक्त कार्यशाला सम्पन्न भएकाे हाे ।

कार्यक्रमा शिक्षामा कृत्रिम बुद्धिमत्ता (AI) को प्रभावकारी प्रयोग, विद्यालय नेतृत्व, आधुनिक शिक्षण पद्धति, विद्यालय संस्कृतिको विकास तथा भविष्यका शैक्षिक सम्भावनाबारे विस्तृत प्रस्तुति दिइएको थियो । साे अवसरमा सहभागीहरूले विद्यालय सञ्चालन तथा शिक्षण सिकाइसँग सम्बन्धित विभिन्न जिज्ञासा र समस्याहरू राखेका थिए भने सहजकर्ताहरूले तिनको व्यावहारिक समाधान प्रस्तुतिकरण गरेका थिए ।

विद्यालयको सभाहलमा पाँच घण्टा भन्दा बढी समय सम्म सञ्चालन भएको कार्यक्रममा क्षेत्रका शैक्षिक सरोकारवाला, विद्यालय सञ्चालक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले कार्यशाला अत्यन्तै उपयोगी, ज्ञानमूलक र समयानुकूल भएको प्रतिक्रिया व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यशालामा वैज्ञानिक अनुसन्धानकर्ता तथा रूपान्तरणकारी शिक्षक, बुटवल पब्लिक स्कुल, रुपन्देहीका शैक्षिक निर्देशक डा. मिनप्रसाद खनाल, अन्तर्राष्ट्रिय शैक्षिक अनुभव समेत हासिल गरेका चैतन्य पाठशालाका प्रबन्ध निर्देशक डा. जीवराज आचार्य तथा दीप एकेडेमी, रुपन्देहीका प्रिन्सिपल एवं लुम्बिनी बर्ड स्कुल, रुपन्देहीका संस्थापक विष्णुप्रसाद ढकालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न विद्यालयका प्रिन्सिपल, सञ्चालक तथा संयोजकहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रमको सञ्चालन चैतन्य पाठशालाकी प्राधानध्यापक सुष्मा रेग्मीले गरेकी थिईन् ।

