सर्लाहीमा बस दुर्घटना हुँदा दुईको ज्यान गयाे, १७ जना घाइते



सर्लाहीमा बस दुर्घटना हुँदा दुईको ज्यान गयाे, १७ जना घाइते

सर्लाही ८ माघ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन् । दाङबाट काँकडभिट्टातर्फ गइरहेकाे ना ५ ख ४४८८ नम्बरको यात्रुबस आफैँ अनियन्त्रित भएर रोडदेखि १० मिटर तल पल्टिँदा बसमा रहेका ३० जनामध्ये दुईको ज्यान गएको हाे ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ मा रहेकाे सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ गइरहेकाे बस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।

घाइते भएकामध्ये चालकसहित पाँच जनाको अवस्था गम्भीर रहेका कारण उनीहरूलाई न्यूरो अस्पताल वीरगञ्ज उपचारका लागि पठाइएको छ । अरु तीन जनाको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ । नौ जनाको अवस्था सामान्य रहेका कारण स्वाभिमान अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब ४ः ५० बजे भएको दुर्घटनामा ज्यान गुमाउनेमा दाङ राप्ती गापा–५ का ३६ वर्षीया राजकुमारी चौधरी र दाङ राप्तीका २३ वर्षीया रीता चौधरी रहेको दुर्घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।यस यात्रुबसमा रहेका बाँकी ११ जना सकुशल रहेको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे