ऐरावती क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदमा चाैधरी र भुसाल भिड्दै : चैत २८ गते निर्वाचन हुँदै
भालुवाङ २५ चैत । दाङको राप्ती गाउँपालिका=२ लालमटियामा रहेको ऐरावती आदर्श बहुमुखी क्याम्पस सञ्चालक समितिको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष पदमा २ जना चुनावी मैदानमा उत्रिएका छन् । चैत २८ गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि विलोचन चाैधरी र ताराप्रसाद भुसाल चुनावी मैदानमा छन् ।
चौधरी यस अघिको सञ्चालक समितिका उपाध्यक्ष हुन् भने भुसाल कोषाध्यक्ष हुन् । चाैधरीलाई नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ भने भुसालले आफ्नो टिमले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । चाैधरीको प्यानलमा खुला सदस्य पदका लागि डिलाराम पौडेल, अनिल पौडेल, रामप्रसाद शर्मा, कुलराज न्यौपाने, बाबुराम थापा क्षेत्री, सन्दिप अधिकारीको उम्मेदवारी परेको छ ।
त्यस्तै चाैधरीकै प्यानलबाट महिला सदस्य पदका लागि बृहस्पति श्रेष्ठ र चम्का भुसाल, अभिभावक सदस्यमा टिकाराम रावत र लेखा सुपरिवेक्षण संयोजकमा पुष्पराज अधिकारी निर्विरोध निर्वाचित भएका छन् । लेखा सुपरिवेक्षण सदस्य पदका लागि दुर्गाप्रसाद भुसाल र पद्मबहादुर गिरी पनि निर्विरोध निर्वाचित भएका छन् । यद्यपी निर्वाचन समितिले भने घोषणा गर्न बाँकी रहेको छ । भुसाल प्यानलबाट खुला सदस्य पदका लागि कृष्णप्रसाद सुवेदी र बिरबहादुर चौधरी चुनावी मैदानमा छन् ।
मतदान चैत २८ गते बिहान १० बजे देखि दिउँसो २ बजेसम्म क्याम्पस परिसरमै हुने निर्वाचन संयोजक देवनारायण चाैधरीले जानकारी दिएका छन् । निर्वाचन संयोजक चौधरीले निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन सम्पूर्ण तयारी समेत पूरा भएको जानकारी दिएका छन् ।
