विहानी सहकारीद्धारा राप्ती आधारभूत अस्पताललाई पानी शुद्धिकरण मेसिन हस्तान्तरण
सिसहनियाँ २० चैत । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँ स्थित विहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । संस्थाले शुक्रवार राप्ती आधारभूत अस्पताललाई २० हजार रुपैयाँ बराबरको पानी शुद्धिकरण मेसिन हस्तान्तरण गर्नुका साथै अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।

सहकारीले अस्पतालमा स्वच्छ पिउने पानीको अभावलाई मध्यनजर गर्दै पानी शुद्धिकरण मेसिन उपलब्ध गराएको जनाएको छ । यसबाट अस्पतालमा आउने सेवाग्राही, बिरामी तथा स्वास्थ्यकर्मीहरूलाई सुरक्षित र स्वच्छ पानी उपभोगमा सहजता हुने विश्वास लिइएको छ । साथै, बिरामीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनीहरूलाई फलफूल वितरण गरेर सहानुभूति र साथको सन्देश पनि दिएको छ । संस्थाका अध्यक्ष बामदेव चौधरीको अध्यक्षता एवम् संस्थाका लेखा संयोजक प्रेमलाल चौधरीको प्रमुख आतिथ्यता र अस्पतालका मेसु सुशिल केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले सहकारी संस्थाहरू केवल आर्थिक कारोबारमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व बहन गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गरे । उनले समुदायको आवश्यकता अनुसार यस्ता सहयोगात्मक कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । त्यस्तै अस्पतालका मेसु केसीले सहकारी संस्थाबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यसले अस्पतालको सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे । उनले अस्पतालमा आउने बिरामीहरूका लागि स्वच्छ पानी अत्यन्त आवश्यक भएकाले यस किसिमको सहयोग महत्वपूर्ण रहेको बताए । संस्थाका अध्यक्ष बामदेव चौधरीले सहकारी दिवसलाई अर्थपूर्ण बनाउन सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताए । उनले आगामी दिनहरूमा पनि समुदायको आवश्यकता अनुसार विभिन्न सामाजिक तथा मानवीय कार्यहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक बालिका शर्माले गरेकी थिइन् । कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्यहरू कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
