देउखुरीकाे गढवामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकाे भवन उद्घाटन
देउखुरी १९ चैत । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा, संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी र समाजको दायित्वलाई अझ सशक्त, संवेदनशील र परिणाममुखी बनाउने आधार तयार भएको बताएका छन् । इलाका प्रहरी कार्यालय गढवा, दाङको प्राङ्गणमा नव–निर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको बिहिवार उद्घाटन गर्दै महानिरीक्षक कार्कीले यस्ताे बताएका हुन् ।

उनले पीडितमैत्री सेवा विस्तारका लागि यस्तो पूर्वाधार अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। महानिरीक्षक कार्कीले अब पीडितहरूले आफ्ना समस्या सहज रूपमा राख्न सक्ने वातावरण निर्माण भएको स्पष्ट पार्दै प्रहरीसमक्ष पुग्न कुनै प्रकारको बिचौलियाको आवश्यकता नपर्ने र त्यस्तो प्रवृत्तिलाई पूर्ण रूपमा अन्त्य गरिएको बताए। ‘नागरिकले सुरक्षित महसुस गर्ने, सम्मानजनक व्यवहार पाउने र न्यायमा सहज पहुँच हुने वातावरण निर्माण गर्नु हाम्रो प्रमुख उद्देश्य हो,’उनले भने।
संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालयको सहयोगमा निर्माण गरिएको उक्त भवन तीन तल्ले संरचनामा तयार गरिएको छ। भवनको कुल क्षेत्रफल २८७ दशमलव २५ वर्ग मिटर रहेको छ। भुईँ तल्ला र पहिलो तल्ला समान १२८ दशमलव २५ वर्ग मिटरका छन् भने दोस्रो तल्ला ३० दशमलव ७५ वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको छ।

भवनभित्र कार्यालय प्रमुख कक्ष, परामर्श कक्ष, पीडित आश्रय कक्ष, सोधपुछ तथा स्वागत कक्ष, बालबालिका कक्ष, बैठक कक्ष, प्रशासन तथा अभियोजन कक्ष लगायतका सुविधा राखिएका छन्। साथै प्रहरी आवास, भान्छा–भोजन कक्ष, प्रहरी ब्यारेक, शौचालय र सौर्य ऊर्जा प्रणालीको समेत व्यवस्था गरिएको छ। यसले सेवा केन्द्रलाई पूर्ण रूपमा सञ्चालनयोग्य र पीडितमैत्री बनाएको छ।
भवन निर्माणका लागि कुल दुई करोड ६० लाख ३३ हजार पाँच सय ४९ रुपैयाँ ३५ पैसा खर्च भएको छ। निर्माण कार्य रोयल कन्स्ट्रक्सनले सम्पन्न गरेको हो। निर्माण सम्झौता २०८१ साल मंसिर १४ गते गरिएको थियो र निर्धारित समयमै काम सम्पन्न गरिएको जनाइएको छ। नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। साथै यसले पीडितहरूको विश्वास अभिवृद्धि गर्दै न्यायिक प्रक्रियामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालयका वरिष्ठ सल्लाहकार इन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै परियोजनाले समुदायस्तरमा न्याय पहुँच विस्तारमा योगदान गर्ने बताए। संरचना व्यवस्थापन प्रमुख शिशिर उपाध्यायले निर्माण प्रक्रियाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।
दाङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले सेवा केन्द्रले विशेष गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई न्यायमा सहज पहुँच दिलाउने विश्वास व्यक्त गरिन्। कार्यक्रममा भवन निर्माणमा योगदान पुर्याउने निर्माण व्यवसायी, प्राविधिक टोली तथा प्रहरी अधिकृतहरूलाई प्रमुख अतिथि कार्कीबाट प्रशंसापत्र प्रदान गरिएको थियो।

संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालयका व्यवस्थापन प्रमुख शिशिर उपाध्याय, इन्जिनियर विराज न्यौपाने, प्रहरी निरीक्षक कालिका कार्कि, इलाका प्रहरी कार्यालय गढवा का प्रमुख प्रहरी निरीक्षक डबल बहादुर बम, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक रोषणराज पाण्डेलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो। लुम्बिनी प्रदेश प्रहरी प्रमुख भूपेन्द्रबहादुर खत्रीले प्रमुख अतिथिलाई कृतज्ञताको चिनो प्रदान गर्दै धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।







