काठमाडौं १० चैत । विश्व क्षयरोग दिवस आज (मंगलबार) मनाइँदैछ । प्रत्येक वर्ष मार्च २४ मा यो दिवस मनाउने गरिन्छ । यसवर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने तय गरिएको छ । दिवसको अवसरमा नेपालसहित विश्वभर विविध जनचेतनामूलक कार्यक्रम गरिँदैछ ।
जनस्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ । तर, पछिल्ला तथ्यांकहरूले नेपालमा रोगको अवस्था अझै चिन्ताजनक रहेको देखाउँछन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार सन् २०२४ मा नेपालमा मात्रै करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । यो संख्या देशको स्वास्थ्य प्रणाली, जनचेतना र जीवनशैलीसँग जोडिएको जटिल चुनौतीको संकेत हो ।
सरकारले सन् २०३५ सम्म नेपालबाट क्षयरोग अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई पूर्ण रूपमा क्षयरोगमुक्त बनाउने दीर्घकालीन लक्ष्य लिएको छ । यही लक्ष्यलाई केन्द्रमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । यसवर्षको नाराले पनि सरकारी प्रयास मात्र पर्याप्त नहुने, बरु नागरिकको सक्रिय सहभागिता अनिवार्य हुने सन्देश दिन खोजेको छ ।
मन्त्रालयका अनुसार देशभरका ६ हजार २ सय ४१ स्वास्थ्य संस्थाबाट क्षयरोगको उपचार सेवा उपलब्ध छ । यस्तै, ७ सय ८५ स्वास्थ्य संस्थामा माइक्रोस्कोपी सेवा र १ सय ४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालनमा छन् । क्षयरोगका बिरामीका लागि ३१ उपचार केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा रहेको पनि मन्त्रालयले जनाएको छ ।
क्षयरोगमुक्त नेपाल अभियानलाई स्थानीय तहसम्म विस्तार गर्ने प्रयासस्वरूप १ सय ४९ स्थानीय तहमा विशेष कार्यक्रमहरू सञ्चालन गरिएका छन् । यस अभियानमार्फत जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड दिइएको छ ।
चिकित्सकहरूका अनुसार क्षयरोग मुख्यतः फोक्सोलाई असर गर्ने संक्रामक रोग हो । जुन हावामार्फत सजिलै सर्ने गर्दछ । तीन हप्ताभन्दा बढी समयसम्म लगातार खोकी लागिरहनु, खकारमा रगत देखिनु, सास फेर्न गाह्रो हुनु, छाती दुख्नु, अचानक तौल घट्नु, अत्यधिक पसिना आउनु र असामान्य थकान महसुस हुनु यसको प्रमुख लक्षणहरू हुन् । यस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकैको स्वास्थ्य संस्थामा परीक्षण गराउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।
विशेषगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरूमा क्षयरोगको जोखिम बढी हुन्छ । धुमपान, मद्यपान तथा लागुऔषध सेवन गर्ने व्यक्तिहरू पनि उच्च जोखिममा पर्ने चिकित्सकहरूको भनाइ छ । साथै, औषधि सेवन अधुरो छोड्दा रोग पुनः सक्रिय हुन सक्ने र अझ जटिल बन्न सक्ने भएकाले उपचारलाई पूर्ण रूपमा पालना गर्नु अत्यन्त आवश्यक मानिन्छ ।
क्षयरोग प्राचीन कालदेखि मानव समुदायमा देखिँदै आएको रोग भए पनि आधुनिक चिकित्सा प्रणालीले यसको उपचार सम्भव बनाइसकेको छ । नियमित रूपमा औषधि सेवन गरेमा यो रोग पूर्ण रूपमा निको हुन सक्छ । तर, उपचारभन्दा पनि रोकथाममा ध्यान दिनु अझ प्रभावकारी हुने स्वास्थ्य विज्ञहरूको सुझाव छ ।
सरकारले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै क्षयरोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा समुदायस्तरका अभियानहरू सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ । रोग नियन्त्रणका लागि सरकारी संयन्त्र, स्वास्थ्यकर्मी र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको सन्देश यसवर्षको दिवसले पुनः एकपटक स्मरण गराएको छ । नेपालमा क्षयरोग नियन्त्रणको अभियान जारी रहँदा तथ्यांकहरूले देखाएको चुनौती र लक्ष्यबीचको दूरी घटाउन अब ठोस कार्यान्वयन, प्रभावकारी निगरानी एवं जनसहभागितामा थप जोड दिनुपर्ने देखिन्छ ।
