कांग्रेस सभापति थापालाई हराउँदै सर्लाही ४ मा रास्वपाका अमरेश सिंह विजयी
काठमाण्डौ २४ फागुन । प्रतिनिधि सभा चुनवामा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश सिंह विजयी भएका छन् । उनले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई हराएका हुन् ।
सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याए । शुरूमा मधेशी जनाधिकार फोरम मार्फत आफ्नो राजनीतिक यात्रा शुरू गरेका सिंह पछि नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा लागेका थिए । २०७० र २०७४ सालको प्रतिनिधिसभा चुनावमा उनी सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए । त्यसपछि २०७९ सालको चुनावमा कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएर फेरि विजयी भए । काठमाण्डौ ४ बाट चुनाव जित्दै आएका थापा पहिलो पटक मधेशबाट उम्मेदवारी दिएका थिए ।
२०६४ सालको संविधान सभामा समानुपातिकबाट सदस्य बनेका थिए । दोस्रो संविधान सभामा काठमाण्डाै ४ बाट विजयी भएका उनी २०७४ र २०७९ सालको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी भए । २०७० सालमा उनी स्वास्थ्य मन्त्री बनेका थिए । तेस्रो भएका एमाले उम्मेदवार अमनिश कुमार यादवले ९ हजार ३ सय ४३ मत ल्याएका छन् । १ लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।
